Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
भीमेश्वर नगरपालिकामा आनीहरुका लागि भवन निर्माण हुँदै

माघ २२, चरिकोट । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर १ स्थित धुचे शुलिङ गुम्वाका आनीहरुलाई अध्ययन तथा प्रार्थनाका लागि सुविधासम्पन्न भवन बन्ने भएको छ । उक्त गुम्वाका २० जना आनीहरुलाई लामा पढ्न र ध्यान गर्न ८ कोठे पक्की भवन निर्माण हुने भएको हो । गत मंसिर महिनाबाट निर्माण सुरु गरिएको भवन चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्नेगरी धमाधम निर्माण कार्य भैरहेको गुम्बाका प्रमुख लामा गुरु लोप्साङ लामाले जानकारी दिए । ‘भवन नहुँदा आनीहरुलाई प्रार्थना, ध्यान, तपस्या गर्न निकै समस्या भैरहेको थियो, नयाँ भवन निर्माणपछि सहज हुने भएको छ, लामाले भने ।’ 

नेपाल सरकारको ५० लाख रुपैयाँ अनुदान सहयोगमा नयाँ भवन निर्माण हुने भएको हो । भवन निर्माणका लागि व्यक्ति तथा संस्थाहरूबाट पनि केही सहयोग जुटेको छ । करिब ३५ वर्ष पुरानो उक्त गुम्बामा विभिन्न जिल्लाका आनीहरु अध्ययनका लागि आउने गर्दछन् । हाल दोलखा सहित, सिन्धुपाल्चोक र रामेछापबाट आएका आनीहरु गुम्बामा लामा अध्ययन गरिरहेका छन् । कालिञ्चोक गाउँपालिका वडा नम्बर ६ स्थित कुरीबाट आएकी आनी छेरिङ छेल्जोमले सबै पापहरुबाट मुक्ति पाउन र समाजलाई सकारात्मक सन्देश दिन आफु आनी बनेर ध्यान, तपस्यामा लागेको बताईन् । 

हाल भवन अभावमा एउटै कोठामा दुई जना आनीहरु बस्नुपर्ने बाध्यता छ । जसका कारण एकान्तमा बस्नुपर्ने आनीहरुलाई ध्यान, तपस्यामा केही असजिलो छ । नयाँ भवन बनेपछि उक्त समस्या हट्ने र ध्यान तपस्या गर्न सह हुने आनीहरुको विस्वास छ । आनीहरु विहान ५ बजेदेखि ८ बजेसम्म र बेलुकी ४ बजेदेखि साँढे ४ बजेसम्म गुम्बामा भेला भई लामा पाठ गर्ने गर्दछन् भने दिउँसोको समयमा आ–आफ्नै कोठामा ध्यान तपस्या गर्ने गर्दछन् ।

प्रशिक्षार्थी पत्रकार किस्मा थामी र अञ्जु थामीको सहयोगमा

प्रकाशित मिति: बिहीबार, माघ २२, २०७७  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update