काठमाडौं - नेपालका पाँच सय युवाहरुलाई ईजरायलको विशिष्ट श्रम रोजगारीमा पठाईने भएको छ । जसका लागि नेपाल र इजरायलबीच गत असोजमा भएको ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ कार्यान्वयनका लागि बिहीबार दुई देशका अधिकारीबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’मा हस्ताक्षर हुँदैछ ।
प्रोटोकलमा हस्ताक्षर भएसँगै इजरायलको विशिष्ट श्रम बजार पाँच सय नेपाली युवाका लागि खुला हुनेछ । यसबाट केयरगिभर, कृषि, होटल तथा रेष्टुरेन्ट, निर्माणलगायत क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर खुल्ने अधिकारीहरुले जनाएका छन् । नेपाली युवाले इजरायली श्रम कानूनअनुसार सेवा सुविधा पाउनेछन् ।
दुई देशबीचको सरकार–सरकार संयन्त्र (जिटुजी) बाट नेपाली युवालाई इजरायल पठाउन लागिएको हो । यसअघि विभिन्न चरणमा छलफल भई सहमतिसमेत भइसकेकाले पहिलो क्षेत्रका रुपमा इजरायलको नर्सिङ क्षेत्र (अस्पताल, नर्सिङ होम, दिवा स्याहार केन्द्रलगायत) मा नेपालीले रोजगारीको अवसर प्राप्त गर्नेछन् ।
वैदेशिक रोजगारीका लागि इजरायललाई आकर्षक गन्तव्यका रुपमा लिइन्छ भने आम्दानी, सामाजिक सुरक्षा तथा रोजगारीजन्य श्रमिक स्वास्थ्य सुरक्षाका दृष्टिले पनि इजरायल विश्वकै उत्कृष्ट मुलुकमा पर्दछ ।
केही वर्षदेखि नेपाली कामदार लैजान बन्द गरेको इजरायलले पछिल्ला समय नेपाली श्रमिक लैजाने चाहना गरेको थियो । इजरायलले कृषि तथा केयर गिभरको क्षेत्रमा विदेशी कामदार लिँदै आएको छ । गत असोज १४ गते नेपाल र इजरायलबीच ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’मा हस्ताक्षर भएको थियो ।