चरिकोट - दोलखाको कालिञ्चोक गाउँपालिका प्रथम अध्यक्ष कप भलिवल प्रतियोगिताको उपाधि कालिञ्चोक ‘ए’ले सुरक्षित गरेको छ । प्रतियोगिताको शनिवार सम्पन्न फाईनलमा गौरीशंकर गाउँपालिकालाई पराजित गर्दै कालिञ्चोक गाउँपालिका ‘ए’ उपाधि चुम्न सफल भएको हो । उपाधि उचालेसँगै कालिञ्चोक गाउँपालिका ए ले नगद एक लाख रुपैयाँ सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
उपाधिका लागि कालिञ्चोक ए सँग अन्तिमसम्म प्रतिस्पर्धा गरेको गौरीशंकर गाउँपालिकाले द्वितीय स्थानमै चित्त बुझाएको छ । यस्तै बिगु गाउँपालिका तृतीय र कालिञ्चोक गाउँपालिका ‘डी’ ले चौथो स्थान हाँसिल गरेको स्थानीय प्रकाश थामीले जानकारी दिए । प्रतियोगितामा द्वितीय, तृतीय र चतुर्थ हुने टिमले क्रमश ः ७० हजार, ५० हजार र ३० हजार नगदसहित सिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगिताको बेस्ट ब्लकर कृष्ण थापा र बेस्ट सर्भरको रुपमा हरिवंश सोडारी घोषित भए । विजेता टिम र खेलाडीहरुलाई जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डे, गाउँपालिका अध्यक्ष विन कुमार थामी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रोहितचन्द्र खड्का लगायतले एक कार्यक्रमकाबीच पुरस्कार र सम्मान पत्र प्रदान गरे ।
गाउँपालिकाका अध्यक्ष विन कुमार थामीले खेलकुदको क्षेत्रको माध्यमबाट खेलकुद प्रतिभाहरुको खोजी र समाज विकासमा योगदान पुर्याउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको बताए । कालिञ्चोक गाउँपालिकाले पहिलो पटक अध्यक्ष कपको आयोजना गरेको हो । सम्भवत ः यो गाउँपालिकाको सर्वाधिक पुरस्कार राशीको पहिलो प्रतियोगिता हो । यसअघि उपाध्यक्ष कप आयोजना गरिएको थियो ।
प्रतियोगिताको समापन कार्यक्रममा मन्तव्य राख्दै जिल्ला समन्वय समिति दोलखाका संयोजक पाण्डे, गाउँपालिका अध्यक्ष बिनकुमार थामी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रोहितचन्द्र खड्कालगायतले खेलकुद क्षेत्र र खेलाडीहरुको प्रोत्साहन र प्रवद्र्धनका लागि आ आफ्नो क्षेत्रबाट सक्दो पहल गर्ने प्रतिवद्धता जनाए ।
प्रतियोगितामा दोलखाका नौवटा स्थानीय तहसहित १२ वटा समूहले सहभागिता जनाएका थिए । प्रतियोगिताको नेकपा केन्द्रिय नेता समेत रहेका बाग्मती प्रदेश सभाका सांसद पशुपति चौलागाईंले उद्घाटन गरेका थिए ।