चरिकोट - दोलखाको कालिञ्चोक गाउँपालिकाले यो आर्थिक वर्षमा १ हजार रोपनी क्षेत्रफलको जग्गामा किवी खेती विस्तार गर्ने भएको छ । गाउँपालिका को वडा नम्बर १,३, ६ र ९ नम्बर वडाको १ हजार रोपनी जग्गामा किवी खेती विस्तार गर्न लागिएको हो ।
त्यसका लागि गाउँपालिकाले अहिले धमाधम पकेट क्षेत्र घोषणा र समुह गठन कार्य गरिरहेको छ । वडा नम्बर १ क्याङपोलस्थित भित्रिखर्क र वडा नम्बर ९ सुन्द्रावतीमा हालै किबीको पकेट क्षेत्र घोषणा गरिएको छ । वडा नम्बर ६ लाई यसअघि नै पकेट घोषणा गरिसकिएको छ ।
माटो, हावापानी अनुकूल रहेको यस क्षेत्रका कृषक पछिल्लो समय किवी खेती तर्फ आकर्षित छन् ।
१ हजार रोपनी जग्गामा किवी खेती विस्तारको लागि गाउँपालिकाले चालु आर्थिक वर्ष ३० लाख रुपैयाँ वजेट विनियोजन गरेको छ । प्रदेश सांसद विकास कोषको १० लाख, कृषि ज्ञान केन्द्र रामेछापको २५ लाख रुपैयाँ किवी खेती विस्तारका लागि खर्च गरिदैंछ ।
उक्त बजेट किवी फलको बिरुवा खरिद, थाँक्रा व्यवस्थापन, सिंचाई, बगैचा व्यवस्थापन, साना मेसिनरी औजार तथा उपकरण, उच्च प्रविधि नर्सरी स्थापना, बगैचा सुदृढिकरणमा खर्च हुने बताइएको छ ।
यस्तै प्रधानमन्त्री कृषि आधुनिक परियोजना कार्यान्वयन इकाइ (किवी जोन) दोलखाले पनि आर्थिक/प्राविधिक सहयोग गर्दैछ भने केही गैर सरकारी संस्थाहरु संग पनि समन्वय गरिएको छ ।
गाउँपालिका अध्यक्ष विनकुमार थामीले परम्परागत कृषि प्रणालीमा परिवर्तन ल्याउन एकैसाथ ठूलो क्षेत्रफलमा किवी खेती विस्तार गरी कृषकहरुलाई परिचालन गर्न लागिएको बताए ।
पहाडी क्षेत्रमा पकेट क्षेत्र घोषणाका लागि कम्तीमा दुई सय रोपनी जग्गा र एक हजार बिरुवा लगाउनुपर्ने मापदण्ड छ भने ब्लक स्तरमा किवी खेती गर्न ६ सय बढी जग्गा आवश्यक पर्दछ ।
पुस महिनाभित्र खाल्डो खन्ने, मल व्यवस्थापन र सिंचाई पूर्वाधारको काम सकेर माघको पहिलो साता बिरुवा रोप्ने तयारी छ । कालिञ्चोक गाउँपालिका मा हाल ७ बढी बोटबाट किवीको ब्यापारिक उत्पादन भैरहेको अनुमान छ ।