Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाको गौरवका आयोजनाहरु पुरा गर्न कुनै कसर बाँकी राखिन्न : मन्त्री गुरुङ

चरिकोट- संचार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङले  दोलखाको राष्ट्रिय गौरवका आयोजनाहरु पुरा गर्न कुनै कसर बाँकी नराख्ने बताएका छन् । सदरमुकाम चरिकोटमा शनिबार बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले उत्तर-दक्षिण लोकमार्ग, तामाकोसी जलविद्युत् आयोजना, फिल्मसिटी, खरिढुंगा म्याग्नेसाईट सहितका ठुला आयोजनाहरु सम्पन्न गर्न मन्त्रीको हैसियतले सक्ने सबै पहल गर्ने प्रतिबद्धता जनाए । 

समृद्ध दोलखा सुखी दोलखालीको सपना पूरा गर्न जनताले दिएको विस्वासको मत सधैं स्मरण गरेर अघि बढ्ने उनको प्रतिबद्धता छ ।

उत्तर-दक्षिण लोकमार्ग अन्तर्गत लामाबगर-लप्ची सुरुङमार्गको ठेक्का यहि बर्ष लाग्ने विस्वास उनले दिलाए । निर्वाचनमा नेताहरुले पटक पटक उक्त लोकमार्ग निर्माण कार्य अघि बढाउने प्रतिबद्धता जनाउँदै आएका छन् । तर कठिन मानिएको लामाबगर-लप्ची खण्डको काम हुन नसक्दा उत्तर-दक्षिण लोकमार्ग निर्माण कार्यले गति लिन सकेको छैन । यो पटक माघ महिना भित्रै ठेक्का प्रक्रिया अघि बढ्ने उनले बताए । 

बहुप्रतिक्षित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम छिट्टै सम्पन्न भएर विधुत उत्पादन सुरु हुने पनि उनले बताए । यस्तै फिल्म सिटी निर्माण र खरिढुंगा म्याग्नेसाईट उधोग पुनः संचालनमा ल्याउने प्रक्रिया अघि बढेको जानकारी पनि उनले दिए ।

मन्त्री गुरुङले भीमेश्वर नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको भीमेश्वर रङ्गशालाको शनिबार शिलान्यास गरेका छन् । त्यसक्रममा उनले रङ्गशाला निर्माण सम्पन्न गर्न आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिवद्धता जनाए । 

नगरपालिकाले प्रत्यक वर्ष ४ करोड रुपैयाँ विनियोजन गर्नेगरी रंगशाला निर्माण सुरु गरेको हो । आरसीसी प्याराफिट सहितको भीमेश्वर रङ्गशाला पहिलो चरणमा कर बाहेक ११ करोड १५ लाख ७७ हजार ४ सय ५२ रुपैयाँमा किरातेश्वर-सिमपानी जे.भी.ले निर्माण गरिरहेको छ । 

मन्त्री गुरुङ शनिबार नै शैलुङ गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष धावा वांगेल लामाको शोकसभामा पनि सहभागी भए । संचारमंत्री भएपछि पहिलो पटक गृहजिल्ला दोलखा आएका मंत्री गुरुङ एक रात गृह गाउँ सुरी हुदै भोली माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको कार्यक्रममा सहभागी हुने छन् । 

प्रकाशित मिति: शनिबार, पुस ४, २०७७  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update