८ फागुन, काठमाडौं । सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले एजेन्टसँग कमिसनको बार्गेनिंग गरेको अडियो सार्वजानिक भएको छ । उनले दलालसँग गरेको अडियो कुराकानीमा मन्त्रालयका कर्मचारीलाई अश्लील शब्द प्रयोग गरेर गाली गर्दै कमिसनको कुरा गरिएको छ ।
सेक्युरिटी प्रेसबारे गरिएको कुराकानीमा उनले भनेका छन्, ‘यस्तो कुरामा यी मु‘ कर्मचारीसँग लग्यो भने यिनीहरुले हेप्छन्‘ ‘यो मु‘..ले बनाएको त ३५ अर्बको छ नि, यो ३५ अर्ब नै नभएपछि, २७ अर्बको निस्केपछि २८ अर्ब बनाउनोस् ।’ अडियोको सुरुमै एजेन्ट भन्छन्, यो १२ गते १२ बजेपछि स्वीस एम्बेसी आउँछ... समय मिलाउनुहोला ।’ अडियो सम्वादमा मन्त्री बास्कोटासँग कुरा गर्ने व्यक्ति स्वीस कम्पनीको एजेन्ट हो भन्ने कुराकानीबाट बुझ्न सकिन्छ ।
अडियोमा सेक्युरिटी प्रेसका एजेन्ट र मन्त्री बास्कोटावीच ७४–७५ करोड कमिसन लेनदेनबारे कुरा सुन्न सकिन्छ । मन्त्री बास्कोटाले लेनदेनमा सहमति जनाउँदै एजेन्टसँग कर्मचारीहरुलाई नभन्नु भनेका छन् । मन्त्री बास्कोटासँग कमिसनबारे सम्वाद गर्ने व्यक्ति स्वीस कम्पनीका एजेन्ट विजय मिश्र रहेको स्रोतहरुले जनाएका छन् ।