काठमाण्डौं - फ्रान्सले आफ्ना सबै नागरिकका लागि कोरोना भाइरसविरुद्धको खोप निशुल्क उपलव्ध गराउने भएको छ । प्रधानमन्त्री जा कार्तेक्सले आफ्नो देशका नागरिकलाई खोप निशुल्क हुने घोषणा गरेका हुन् ।
जनवरीमा प्रारम्भिक चरणमा स्वास्थ्य संस्थामा रहेका १० लाख व्यक्तिलाई खोप लगाइने उनले बताए । फेब्रुअरीमा संक्रमणको उच्च जोखिममा रहेका १ करोड ४० लाख नागरिकले खोप लगाउन पाउने बताईएको छ ।
कार्तेक्सका अनुसार उक्त खोप अभियानबारेको प्रस्ताव युरोपेली संघको नियामक संस्था युरोपियन मेडिसिन एजेन्सीमा विचाराधीन रहेको र त्यहाँबाट स्वीकृति मिल्नेबित्तिकै सुरु गरिनेछ । फ्रान्सको सामाजिक सुरक्षा प्रणालीमा रहेका सबैलाई कोरोना भाइरसविरुद्धको खोप निस्शुल्क दिन सुनिश्चित गरिनेछ ।
जसका लागि १ अर्ब ५० करोड युरो छुट्याइएको अन्तराष्टिय संचारमाध्यमले जनाएका छन् । फ्रान्सले २० करोड थान खोप विभिन्न खोप उत्पादक कम्पनीहरूबाट व्यवस्था गरेको जनाएको छ । उक्त खोपहरू सुरक्षित र प्रभावकारी हुने प्रधानमन्त्रीले विस्वास दिलाएका छन् ।