Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सामाजिक सुरक्षा कोषबाट योगदानकर्ताले ७५ लाखसम्म सापटी पाउने

काठमाण्डौं - सरकारले सामाजिक सुरक्षा कोषमा नियमित योगदान गर्नेहरुलाई ७५ लाखसम्म सापट पाउने कार्यबिधि ल्याएको छ । सरकारले हालै पारित गरेको ‘सामाजिक सुरक्षा कोष लगानी कार्यविधि, २०७७’ मा यस्तो व्यवस्था गरिएको हो । यही मंसिर १० गते बसेको मन्त्रिपरिषद बैठले कार्यविधि स्वीकृत गरेपछि श्रमिकले कोषमा योगदान गरेको रकमका आधारमा सापटी पाउने बाटो पनि खुल्ला भएको छ ।

कोषबाट योगदानकर्ता विशेष सापटी, आवास निर्माणका निम्ति योगदानकर्ता घर सापटी, मानव पूँजी निर्माणमा सहयोग पु¥याउने हेतुले योगदानकर्ता शैक्षिक सापटी तथा श्रमिकको भैपरी आउने कार्यमा सेवा प्राप्त गर्नसक्ने कोषको कार्यविधिमा व्यवस्था छ ।

परियोजना कर्जा अन्तर्गत जमानत कर्जा, संस्थागत कर्जा तथा सहवित्तीयकरण कर्जा, लगानीका अन्य क्षेत्रमा सरकारी ऋण पत्रमा लगानी, मुद्दती निक्षेपमा लगानी, शेयरमा लगानी, डिवेन्चरमा लगानी, म्युचुअल फण्डमा लगानी तथा स्थिर सम्पत्तिमा लगानी गरिने कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए ।

उनका अनुसार योगदानकर्ता सापटीअन्तर्गत योगदान रकमको आधारमा धितो राखेर योगदानकर्ताले घर निर्माण गर्न, घर खरिद गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न वा आफ्नो स्वामित्वमा रहेको घरमा तला थप्न तथा मर्मत गर्न रु ७५ लाख वा १५ वर्षको तलब रकम जुन कम हुन्छ सोही बराबर घर सापटी प्राप्त गर्ने सक्नेछन् । ययसैगरी योगदानकर्ता आफैँ वा निजको पति वा पत्नी, छोरा, छोरीको लागि स्वदेश वा विदेशमा उच्च शिक्षा अध्ययनको लागि शैक्षिक सापटी स्वरुप ३५ लाखसम्म प्राप्त गर्न सक्नेछन् ।

योगदानकर्ताले भैपरी आउने सामाजिक कार्यको लागि पाँच लाखसम्मको सामाजिक कार्य सापटी लिन सक्नेछन् । योगदानकर्ता विशेष सापटीबाहेक अन्य सबै सापटीको कूल योग एक करोड वा १५ वर्षको तलब बराबरको रकममध्ये कम हुने रकम सीमाभित्र रही धितोले खामेसम्म र कर्जा भुक्तानीको आधारमा पर्याप्त भएको हुनुपर्नेछ । सापटीका निम्ति कोषमा कम्तीमा तीन वर्षसम्म लगातार योगदान गरेको हुनुपर्ने छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०७७  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update