चरिकोट - दोलखा जिल्लाका प्रसिद्ध धार्मिक तथा पर्यटकिय गन्तव्यहरु शुक्रवारदेखि सर्वसाधारणको खुला गरिएका छन् । कोरोना भाईरस (कोभिड १९) फैलिन नदिन भन्दै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा शुक्रवारदेखि हटेको हो । जिल्ला प्रशासन कार्यालयले यसअघि मठमन्दिरमा नित्य पूजाबाहेकका गतिविधि गर्न रोक लगाएको थियो ।
बिहीबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार शुक्रवारदेखि उक्त आदेश हटाईएको र सर्बसाधरणका लागि खुला गरिएको प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीले जानकारी दिए ।
निषेधाज्ञा हटेपछि जिल्लाको प्रसिद्ध धार्मिक पर्यटकिय गन्तव्यहरु कालिञ्चोक, भीमेश्वर लगायत शक्तिपीठ तथा मठमन्दिरहरुमा पर्यटक तथा भक्तजन पुग्न थालेका छन् । लकडाउनसँगै बन्द भएको कालिञ्चोक केबलकार पनि शुक्रवारदेखि संचालनमा आएको संचालकहरुले जानकारी दिएका छन् ।
स्थानीय प्रशासनले ती धार्मिक गन्तब्यमा स्वास्थ्य सुरक्षाको मापदण्ड भने अनिवार्य पालना गर्न सर्बसाधारणलाई आग्रह गरेको छ । काठमाण्डौंबाट नजिक पर्ने दोलखामा सेवा सुविधा समेत राम्रो भएका कारण पर्यटकहरुको आवागमन तिव्र हुने गर्दछ ।
विशेषगरी हिँउ पर्ने सिजनमा अधिक आन्तरिक तथा वाह्य पर्यटकहरुहरुले यस क्षेत्रको भ्रमण गर्ने गर्दछन् । धार्मिक तथा पर्यटकिय क्षेत्रमा लगाईएको निषेधाज्ञा खोलिएसँगै आर्थिक संकट व्यहोर्दै आएका जिल्लाका व्यवसायीहरु खुसि छन् ।