चरिकोट - आँखैअघि मनमोहक गौरीशंकर हिमाल । फराकिलो लेकाली जंगलबीच फैलिएका क्षितिज र हुस्सु, त्यहीबीच छ अदभूत स्वर्ग जाने सिँढी भनेर चिनिने देउढुंगा । दोलखा जिल्ला बिगु गाउँपालिका स्थित देउढुंगा एउटा पहाडी टुक्रामा देखिने अचम्मको दुई वटा खुड्कीला हो ।
यो गौरीशंकर हिमाल भन्दा केही तल रहेको छ । स्थानीयका अनुसार देउढुंगा झण्डै तीन हजार वर्षअघि चौरी गोठालाहरुले पत्ता लगाएका हुन् । देउढुंगालाई बौद्ध र हिन्दू धर्मको महान तीर्थस्थलको रुपमा लिईन्छ । देउढुंगालाई वृद्धवृद्धाले स्थानीय शेर्पाहरुले आफ्नो भाषामा किबुलुङ र थामी समुदायले भूमेदेवा भन्ने गर्दछन् । ५ हजार मिटरको उचाइमा रहेको देउढुंगा बारे अनेक किस्सा सुन्न पाईन्छ ।
किंवदन्ती अनुसार पहिले देउढुंगाको तल्लो क्षेत्रमा एउटा प्राकृतिक ढोका थियो । त्यहाँ इच्छाएको र मागेको भाडाकुँडा, वस्तुभाउ देखि धनमाल सबै कुरा आफै उत्पन्न हुन्थ्यो । ‘त्यो प्रयोगपछि फिर्ता गर्नुपथ्र्यो, त्यहाँ चौरी चराउन जाने सबै गोठालाले सबै कुराको अभाव देउढुंगालाई मागेर टार्थे र सफा गरेर फिर्ता गथ्र्ये तर एक जनाले जुठो राखिदिएपछि त्यो ढोका बन्द भएको जनविस्वास छ ।
अर्को कथा देउढुंगा बारे झनै रोचक छ । स्वर्ग र माथिल्ला लोकका देवताहरुले पृथ्वीबासीको दुख देख्न सकेनन् । त्यसैको लागि स्वर्ग जोड्ने सिँढी बनाउन थाले । तर कुनै कारणवश रोकियो । सिँढी दुई वटा खुड्कीलामै सीमित रह्यो । देउढुंगाको तल्लो भेगमा आदियोगी शिवले तपस्या गरेको मानिने शिला, प्राकृतिक शिवलिंग र कलात्मक गुफालाई बौद्ध परम्पराले सिंगारिएको छ ।
देउढुंगा भन्दा केहीमाथि नांगो देखिने खुल्ला जमिन यार्सागुम्बाले चर्चित छ । त्यो क्षेत्रभर प्राचिन चित्र र मन्त्र कुँदिएका बौद्ध स्तुपा र मानेछ्र्योतनले लहरेमाने भरिएको छ । त्यहीको माथिल्लो भेगमा आँखैसामुन्ने गौरीशंकर हिमश्रृंखलाको काखैमा काला पत्थरको बगैचा या ब्याल्क स्टोन गार्डेनमा रमाउन सकिन्छ । गार्डेनकै क्षेत्रमा महादेवले हिमाली जीवको लागि उत्पन्न गराएको दामुछो भन्ने सुन्दर ताल देख्न पाइन्छ ।