Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
चन्द्रमाको सतहको नमुना संकलन गर्दै चिनियाँ अन्तरिक्ष यान

बेइजिङ — मंगलबार चन्द्रमा अवतरण गरेको मानवरहीत चिनियाँ अन्तरिक्ष यानले चन्द्रमाको सतहबाट नमुना संकलन गरेको चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासन [सिएनएस]ले जनाएको छ । चीन सरकारले चाङ्गे ५ नाम दिइएको यान मंगलबार ११ बजे राति चन्द्रमा सफलतापूर्वक अवतरण गरेको बुधबार घोषणा गरेको थियो ।

चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनले अन्तरिक्ष प्रशासनले चन्द्रमामा अवतरण गर्दाका तस्बिरहरु पनि सार्वजनिक गरेको छ । यानले चन्द्रमामा अवतरण गर्नेक्रममा सफलतापूर्वक आफ्ना सौर्य प्यानल फहराएको थियो जसले यानलाई आवश्यक पर्ने ऊर्जा प्रदान गर्नेछ ।

चीनको हैनान प्रान्तबाट गत नोभेम्बेर २४ मा प्रक्षेपण गरिएको यो यान चिनियाँ अन्तरिक्ष कार्यक्रमको एउटा महत्त्वाकांक्षी परियोजना हो । हैनान अन्तरिक्ष केन्द्रबाट सन् २००३ मा पहिलो पटक एक चिनियाँ अन्तरिक्ष यात्री लिएको यान अन्तरिक्षमा पठाइएको थियो ।

चीनले हाल मंगल ग्रहको खोज र अनुसन्धानका लागि पनि यान प्रक्षेपण गरिसकेको छ । यसपटक चन्द्रमा पुगेको यान दुई दिनसम्म चन्द्रमाको सतहमा रहनेछ र त्यहाँबाट २ किलोग्राम ढुंगा र अन्य पदार्थ संकलन गर्नेछ । यो यान यही डिसेम्बर महिनाको मध्यतिर उत्तरी चीनमा अवतरण गर्नेछ ।

यदि यो उडान सफल भएमा सन् १९७० को दशकपछि पहिलोपटक पृथ्वीमा चन्द्रमाको सहतबाट नयाँ नमुना प्राप्त हुनेछ । यी नमुनालाई अनुसन्धानका लागि अन्य देशका वैज्ञानिकलाई पनि उपलब्ध गराइने चीनले जनाएको छ । यसैबीच, अमेरिकी र रुसी अन्तरिक्ष कार्यक्रमका अधिकारीहरुले चिनियाँ सफलताका लागि बधाइ दिएका छन् ।

अमेरिकी अन्तरिक्ष संस्था ९नासा० का वैज्ञानिक अभियान प्रमुख टमस जर्बुचेनले ट्वीटरमा चाङ्गे ५ अभियानको सफलताका लागि चीनलाई बधाइ दिएका छन् । उनले लेखेका छन्, यो त्यति सजिलो काम होइन ।

पृथ्वीमा यसअघि अन्तिमपटक सोभियत रुसको अन्तरिक्ष अभियानबाट सन् १९७६ मा चन्द्रमाबाट ढुंगा ल्याइएको थियो । संयुक्तराज्य अमेरिकाका अन्तरिक्ष यात्रीले सन् १९६९ र १९७२ को अवधिमा ३८२ किलोग्राम ढुंगा चन्द्रमाबाट पृथ्वीमा ल्याएका थिए । ती ढुंगाको अध्ययन र विश्लेषण आजपर्यन्त जारी छ ।

-रासस

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०७७  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update