काठमाडौँ — कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपनि कार्यालय बन्द नगर्न निर्देशन दिएको छ । कतिपय सरकारी कार्यालयहरुमा एक दुई जनामा संक्रमण देखिनेवित्तिकै सम्पूर्ण सेवा बन्द गर्ने प्रवृत्ति बढेको भन्दै सीसीएमसी निर्देशक समितिको बैठकले यस्तो निर्देशन दिएको हो ।
संक्रमित व्यक्तिहरुलाई आइसोलेसनमा राखेर सेवा नियमित गर्न निर्देशन दिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्र गुरागाईले जानकारी दिए । वैठकमा संक्रमण उच्च रहेका र कम हुँदै गएका स्थानमा के कस्ता सेवा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएपनि ठोस निर्णय हुन सकेन ।
सचिव गुरागाईका अनुसार संक्रमणको उच्च जोखिम रहेको सीमित स्थानलाई सिल गरी सेवा सञ्चालनका सम्बन्धमा केही निर्णय गर्न सकिने गरी छलफल भएको छ ।
यसैबीच सीसीएमसीले अन्तर्राष्ट्रिय उडान संख्या बढाउने निर्णय गरेको छ । अहिले उडानका लागि स्वीकृति पाएका मुलुकबाहेक अन्य मुलुकमा पनि कोरोना संक्रमणको जोखिमको अवस्था मूल्यांकन गरी आवश्यकताअनुसार उडान अनुमति दिने निर्णय भएको हो ।