काठमाण्डौं - वाग्मती प्रदेश सरकारले निजामती सेवामा साँढे ३ हजार भन्दा बढी कर्मचारी भर्ना लिने तयारी गरेको छ । प्रदेश लोकसेवा आयोगले ३ हजार ७ सय ६४ जना कर्मचारी भर्ना लिने तयारी गरेको हो ।
संघीय सरकारले उक्त संख्याको दरबन्दी स्वीकृत गरिसकेको छ । आयोगले पहिलो पटक स्थानीय तह र प्रदेशको दुईवटा मन्त्रालयका लागि सहायक चौथोस्तरको कर्मचारी माग गरिसकेको छ । आयोगले पहिलो चरणमा सोमवार चारसय ६९ जना कर्मचारीका लागि विज्ञापन आह्वान गरेको हो ।
आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले स्थानीय तहमा कति कर्मचारी आवश्यक छ भन्ने एकिन विवरण प्राप्त भएपछि सोही अनुसार विज्ञापन गर्दै जाने बताए ।
संघीय सरकारको निजामती सेवा ऐनमा भएको व्यवस्था अनुसार कर्मचारी पदपूर्ति सुरु गरिएको र सेवासुविधा सोही अनुसार हुने श्रेष्ठले बताए । प्रदेशले निजामती ऐन र सेवासुविधा सम्बन्धि कानुन निर्माण गरेर लागू गरेपछि सोही अनुसार हुने श्रेष्ठले बताए ।