चरिकोट - साक्षात भविष्य सूचकको रुपमा प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा फेरी पसिना आएको छ । मंगलवार दिउँसो १ बजेर ४३ मिनेटमा सुरु भएको पसिना आउने क्रम २ घण्टा ११ मिनेटपछि ३ बजेर ५४ मिनेटमा सकिएको थियो । यसबीचमा शिलामा ४ पटकसम्म पसिना आएको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिका पदाधिकारीले जानकारी दिएका छन् ।
भीमेश्वर मन्दिरको शीलामा १८ औं पटक ‘पसिना’ आएको हो । मन्दिरको शिलामा पसिना आएपछि दर्शनार्थीहरुको भिड लागेको थियो । भीमेश्वरलाई ‘पसिना’ आउँदा देशमा अनिष्ट वा सकारात्मक परिवर्तन हुन्छ भन्ने जनविस्वास छ ।
उनीहरुका अनुसार भीमेश्वरको शिलामा आएको पसिना पुछिएको कपास राष्टपति कार्यालयलाई पठाउने तयारी छ । पसिना आएपछि राष्ट्र प्रमुखको हैसियतमा राष्ट्रपतिले भीमेश्वर मन्दिरमा क्षमापुजा गराउने चलन छ ।
शिलामा पसिना आएपछि अनिष्ट नहोस् भन्ने कामना गर्दै स्थानीय र भक्तजनहरु भेला भई घण्टा, नगरा बजाउने र शिलालाई चम्मरले हम्किएका थिए । शिलामा आएको पसिना कपासले पुछ्दै दर्शनार्थीहरुलाई दिने गरिन्छ ।
यसपटक कोरोना महामारीका कारण मन्दिरमा नित्य पूजा बाहेक अन्य क्रियाकलाप रोक लगाईएको समयमा मन्दिरको शिलामा पसिना आएको हो । यसअघि २०७६ साल फागुन ८ गते भीमेश्वरलाई पसिना आएको थियो ।