चरिकोट–दोलखा सदरमुकाम चरिकोट स्थित मिलिजुली–कालिञ्चोक वचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थामा आर्थिक अपचलन र अनियमितता नभएको भन्दै दोस्रो पटक सार्वजानिक स्पष्टिकरण दिएको छ । आर्थिक अनुशासनमा प्रश्न उठेपछि आईतवार दोस्रो पटक पत्रकार सम्मेलनको आयोजना गरी उक्त सहकारीले संस्थाको आर्थिक कारोवार ऐन, नियम अनुसार रहेको दाबी गर्दै प्रष्टिकरण दिएको हो ।
एक्सेस ब्राण्ड खरिद गरेको, सहकारी एकिकरणको क्रममा आर्थिक लेनदेन भएको, सहकारी नीति बिपरित ऋण लगानी गरको र त्यसमा कमिसन लिने गरिएको लगायतका विषय उल्लेख गर्दै केही संचारमाध्यममा समाचार प्रकाशमा आएको थियो । पत्रकार सम्मेलनमा सहकारी आफैले गठन गरेको छानविन समितिको प्रतिवेदनसमेतलाई आधार मानेर उठेका प्रश्नहरुबारे स्पष्टिकरणको फेहरिस्त सार्वजानिक गरिएको छ । अन्य नियामक निकायले अध्ययन गरेको छानविन प्रतिवेदन भने सार्वजानिक भएको छैन ।
कार्यकारी अधिकृत ईश्वर न्यौपानेमाथि लागेको आर्थिक लेनदेन र अपचलनको आरोपबारे संस्थाले प्रयोगमा ल्याएको माईक्रो बैंकर सफ्टवेयरमा गरिएको प्रविष्टि अध्ययन गरिएको संस्थाले जनाएको छ । जसमा न्यौपानले अस्वभाविक स्रोतबाट सम्पति आर्जन गरेको नपाईएको संस्थाको दावी छ ।
विज्ञप्तीमा धितोवाला शेयर सदस्यको मञ्जुरी बिना ऋण स्वीकृत गरेको भन्ने विषयमा अध्ययन गर्दा त्यसलाई पुष्टि गर्ने पर्याप्त आधार नदेखिएको उल्लेख छ । संस्थाका अनुसार २०७५ साल असोजमा सम्पन्न साधारणसभाबाट प्रति शेयर सदस्य १ करोड र प्रति परिवार २ करोडसम्म ऋण प्रवाह गर्नसक्ने अधिकार संचालक समितिलाई प्रत्यायोजन गरेको अधिकार संशोधन गरिएको छ । संस्थाको वित्तीय अवस्थामा प्रतिकुल असर पर्ने देखिएपछि त्यसलाई संशोधन गरी अधिकतम ३५ देखि १ करोडसम्म कायम गरिएकाले एकल ऋणी सिमा नाघेर प्रवाह नगरिएको संस्थाको जिकिर छ ।
गलत धितोको मुल्यांकन, गोप्य कोष खडा गरी रकम खर्च गरेको र सो कोषको लेखापरीक्षण नगराएको, रिश्वत दिई एक्सेस ब्राण्ड हाँसिल गरेको, सोही अनुसार प्रमुख कार्यकारी अधिकृतले पुरस्कार प्राप्त गरेको, सिंगटी साकोसका पदाधिकारीको ऋण मिनाहा गरेको, रिश्वत लिई अन्य सहकारीसँग एकिकरण गरेको लगायतका विषयमा पनि सहकारीले आफ्नो जिकिरको विस्तृत विवरण सार्वजानिक गरेको छ ।
यस्तै गोडीको दुरुपयोग गरेको, कर्मचारीलाई योग्यता अनुसारको जिम्मेवारी नदिएको भवन निर्माणमा अनियमितता भएको बारेपनि सहकारीले लामो प्रष्टिकरण दिएको छ ।
सहकारीका अध्यक्ष नारायण श्रेष्ठले सहकारी ऐन, नियम र विद्यान अनुसार संस्थाको आर्थिक कारोवार पारदर्शी रहेको र छानविन समितिको प्रतिवेदनले थप स्पष्ट पारको बताए । संचारमाध्यममा आएजस्तो संस्थामा आर्थिक अपचलन नभएको संस्थाको जिकिर छ ।