Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखामा वालविवाह गरेका एक जोडीलाई आ–आफ्नै घर फिर्ता पठाईयो

चरिकोट — दोलखामा विवाह बन्धनमा बाँधिएका एक जोडीलाई प्रहरीले आ–आफ्नै घरमा फिर्ता पठाएको छ । यही मंसिर महिनामा विवाह गरेका १८ वर्षिय वालक र १७ वर्षिय वालिकालाई आ—आफ्नै अभिभावकको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको परिचय र ठेगाना भने गोप्य राखेको छ । शुक्रवार वालविवाह गरेको सूचना प्राप्त भएपछि जिल्लाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ४ जनाको प्रहरी टोली खटि गएको थियो ।

प्रहरीले भागी विवाह गरेका उनीहरुलाई स्थानीय र आफन्तको सहयोगमा खोजी गरी वडा कार्यालयमा छलफल गराई वालक वालिका दुबै जनालाई आ–आफ्नै अभिभावकको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी रञ्जन कोईरालाले जानकारी दिए । वडा कार्यालयले दुबै पक्षका अभिभावक राखेर उमेर पुरा नभई विवाह नगर्ने कागज समेत गराएको बताईएको छ ।

मुलुकी अपराध संहित २०७४ को परिच्छेद ११ को दफा १७३ मा वालविवाहलाई बन्देज गरेको छ । २० वर्ष उमेर नपुगी विवाह गरे वा गराएमा दोषीलाई ३ वर्षसम्म केद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०७७  १८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update