Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाका होटल व्यवसायमा आर्थिक संकट : सहज वातावरण बनाउन ध्यानाकर्षण

चरिकोट — कोरोना महामारीका कारण व्यवसाय चौपट भएपछि दोलखाका होटल व्यवसायीहरु सहजीकरणका लागि स्थानीय प्रशासनको ढोका ढक्ढकाउन पुगेका छन् । कोरोना त्रासका कारण जिल्लामा पर्यटकहरुको आवागमन ठप्प भएसँगै व्यवसाय संकटमा परेपछि सहज वातावरण बनाउन स्थानीय प्रशासनको ध्यानाकर्षण गराईएको हो ।

पर्यटक आवागमन तिब्र हुने प्रसिद्ध पर्यटकिय क्षेत्र कालिञ्चोक, भीमेश्वर मन्दिर लगायत जिल्लाका मठमन्दिर र शक्तिपीठहरु बन्द रहँदा व्यवसायीहरु प्रभावित छन् । बजार, यातायात खुल्ला गरिएपनि यस क्षेत्रमा स्थानीय प्रशासनले नित्यपूजा बाहेकका क्रियाकलाप गर्न रोक लगाउँदा थप आर्थिक संकट व्यहोर्नुपरेको व्यवसायीहरुको गुनासो छ ।

होटल संघ दोलखाको तर्फबाट शुक्रवार प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीलाई बुझाईएको ध्यानाकर्षण पत्रमा जिलाको धार्मिक तथा पर्यटकिय क्षेत्र खुल्ला गर्न आग्रह गरिएको छ । “पर्यटक भ्रमण गर्ने मुख्य गन्तव्यहरु नै बन्द रहँदा होटल व्यवसायको अवस्था झन नाजुक बनेको छ, यथाशिघ्र ती स्थानमा आवतजावत गर्ने वातावरण बनाउन सम्बन्धित सबै सरोकारवाला निकायलाई आग्रह गर्दछौं” ध्यानाकर्षण पत्रमा भनिएको छ ।

आर्थिक संकटका कारण कतिपय होटल व्यवसायीहरु विस्थापित भैसकेको र संचालनमा रहेका व्यवसायीहरुलाई पनि कर्मचारी व्यवस्थापन, घरभाडा, वित्तिय संस्थाको कर्जा बुझाउन समस्या भएका कारण राज्यले यसको उचित सम्वोधन गर्नुपर्ने होटल संघ दोलखाका सचिव प्रकाश बुढाथोकीले बताए ।
संघले कोरोनाको असर नहटेसम्म घरभाडा समायोजनको लागि समन्वय गर्न पनि सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराएको छ । यसैगरी नगरपालिका, घरेलु तथा साना उद्योग विकास कार्यालय तथा जिल्ला कर कार्यालयमा समयमै नविकरण र कर चुक्ता गर्न नसकेका कारण जरिवाना छुट गर्न माग गरिएको छ ।

व्यवसायीहरुले वित्तिय संस्थाबाट लिएको कर्जाको व्याज तथा किस्ता समयमै तिर्न सक्ने अवस्था नरहेकाले बिना हर्जना सहुलियत दरमा किस्ता तथा कर्जा बुझाउन सहजिकरण गर्न पनि आग्रह गरेका छन् । संघका जिल्ला अध्यक्ष रञ्जितकुमार पाठकको नेतृत्वमा गएको होटल व्यवसायीहरुको टोलीले सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराएको हो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०७७  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update