चरिकोट - दोलखा सदरमुकाम चरिकोट स्थित शंखधर चोकलाई थप व्यवस्थित बनाईने भएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाः निर्माण समितिले चरिकोट बजारको भालुखोला क्षेत्रलाई व्यवस्थित गरी शंखधर चोकको रुपमा विकास गर्ने योजना बनाएको हो ।
नेपाल सम्वत् ११३८ अर्थात विक्रम सम्वत् २०७५, मंसिर २ गते भालुखोलामा राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमा स्थापना गरी उक्त स्थानलाई शंखधर चोक नामाकारण गरिएको थियो । शंखधर साख्वाः निर्माण समितिका अध्यक्ष राजेन्द्र मानन्धरले नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमा स्थापनापछि उक्त चोक थप व्यवस्थित र आकर्षक बनाउने कार्य अघि बढिरहेको जानकारी दिए ।
उनका अनुसार यसबर्ष चोकबाट आकर्षक शैलीले गोडेटो बाटाहरु खुल्लागर्ने, प्राचीन शैलीले ढुङ्गाहरु विछ्याउने, स्टील रेलिङ र पुलहरु राख्ने, डिस्प्ले बोर्ड राख्ने लगायतका काम गर्ने योजना प्रस्ताव गरिएका छन् । फोहरमैला वग्ने दुर्गन्धित भालुखोला क्षेत्रको सार्वजनिक जमिनमा शंखधरको प्रतिमा स्थापनापछि चरिकोटमा एउटा अर्को नयाँ गन्तव्य थपिएको मानन्धरले बताए ।
यसैबीच नेपाल सम्वत् ११४१ कछलाथ्वपारुको अवसरमा दोलखा लगायत देशभर विविध कार्यक्रम हुदैछ । यद्यपी कोभिड— १९ को महामारीका कारण गतबर्षहरु झै ¥याली, सभा र नेवारी भोज जस्ता औपचारिक कार्यक्रम भने नहुने भएका छन् ।
उक्त अभियानलाई निन्तरता दिनका लागि स्वास्थ्य सुरक्षा सावधानी अपनाउँदै आईतवार विहान माल्र्यापण, अनौपचारिक सभा र चियापान गर्ने कार्यक्रम तय गरिएको समितिले जनाएको छ ।
राष्ट्रिय विभूति शंखधरले ऋणमा डुबेका नेपाली जनतालाई ऋणमोचन गराई दासत्वबाट मुक्त गर्दै नेपाली समाजलाई सुधार गरी नेपाल संवत् प्रचलनमा ल्याएका थिए ।