Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
फुटबलका युवा रेफ्रि कार्कीको परिवारलाई आर्थिक सहयोग

चरिकोट - नेपाली फुटबलको राष्ट्रिय युवा रेफ्रि हरिष कार्कीको परिवारलाई दोलखा जिल्ला फुटवल संघले संकलन गरेको सहयोग रकम प्रदान गरिएको छ । घरमा ग्यासँको सिलिण्डर पड्किएर घरका सदस्यहरु समेत घाइते भएका थिए । संघको सहयोगमा संकलित ६७ हजार ७ सय रुपैयाँ सहयोग रकम शुक्रवार सदरमुकाम चरिकोटमा आयोजित एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको हो ।

विजयादशमी तथा शुभदिपावलीको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख डवल पाण्डेले लगायतले कार्कीलाई सहयोग रकम हस्तान्तरण गरे । कार्कीको आमाको २० दिनमा उपचारकै क्रममा मृत्यु भैसकेको छ भने भाई र बहिनीको उपचार भैरहेको छ ।

जापानमा रहेका दोलखाली फुटबल खेलप्रेमीहरुबाट ४० हजार ७ सय, रिनेजम नेपालबाट ५ हजार, दोलखाली फुटबल खेलाडी राजीव श्रेष्ठ (हाल अमेरिका) बाट ५ हजार, दोलखा रेफ्रि समूहबाट २ हजार, दोलखा ब्याडमिण्टन संघबाट २ हजार, निम्फाबाट १ हजार पाँच सय, दोलखा युनाइटेडबाट १ हजार पाँच सय र दोलखा जिल्ला फुटबल संघको तर्फबाट १० हजार रकम संकलन भएको थियो ।

हाल जापानमा रहेका भिम रायमाझीले संघलाई ब्यक्तिगत रुपमा १० हजार रुपैयाँ सहयोग गरेका छन् । भीमेश्वर नगरपालिका ९ निवासी मनोज श्रेष्ठको संयोजनमा संकलन भएको रकम पीडित परिवारलाई पठाईएको दोलखा जिल्ला फुटबल संघका अध्यक्ष गोविन्द श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेत, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रोहितचन्द्र खड्का, प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटी लगायत सहभागिहरुबीच शुभकामना आदानप्रदान भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०७७  १९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update