चरिकोट - दोलखामै कोरोना भाईरस (कोभिड १९) को परीक्षणका लागि पीसीआर मेसिन खरिद गर्ने प्रक्रिया अघि बढाईएको छ । दिनप्रतिदिन कोरोना संक्रमण दर बढ्न थालेपछि जिल्लामै पीसीआर परीक्षणका लागि मेसिन खरिद गर्ने पहल सुरु गरिएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख डवल पाण्डेको अध्यक्षतामा बुधवार बसेको सर्बदलिय, सर्वपक्षिय बैठकले चरिकोट अस्पतालमै पीसीआर परीक्षण गर्ने व्यवस्थाका लागि मेसिन खरिद गर्ने निर्णय गरेको छ । जिल्लाका प्रतिनिधिसभा सांसदबाट ५० लाख र प्रदेशसभाका सांसदहरुबाट ५० लाख सहयोगबाट पीसीआर मेसिन खरिद गर्ने बैठकको निर्णय छ ।
मेसिन खरिद प्रक्रिया अघि बढाउन भीमेश्वर नगरपालिकालाई आग्रह गरिएको छ । हाल जिल्लामा संकलन गरिएको स्वाब पीसीआर परीक्षणका लागि काभ्रे स्थित धुलिखेल अस्पताल पठाउने गरिएको छ ।
यसैगरी बैठकले विद्युत प्रसारण लाईनबाट प्रभावित तामाकोसी गाउँपालिका ५ सहरेका वासिन्दाहरुलाई क्षतिपुर्ति उपलव्ध गराउन सम्बन्धित निकायमा पहल गर्ने, न्यू खिम्ति बाह्रविसे लप्सीफेदी ४०० केभि प्रसारण लाईनको टावर मेलुंग गाउँपालिका वडा नम्बर ४ भेड्पुका नागरिकको जग्गा नापी नभएको हुँदा साविक प्रमाणहरु, दर्ता, ७ नं. फारम, तिरो तिरेको रसिदलाई आधार मानी नियमानुसार क्षतिपुर्ति उपलव्ध गराउन सम्बन्धित निकायमा पहल गर्ने निर्णय पनि गरेको छ ।
यस्तै मेलुंग गाउँपालिका वडा नम्बर ४ भेड्पुका नागरिकले उपभोग गरिरहेको तर स्वामित्व नपाएको जग्गाको नापजाँच गर्न सम्बन्धित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई अनुरोध गर्ने निर्णय पनि गरिएको छ ।