-विकास थामी
चरिकोट - दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर १ मा निर्माणधिन थामी राष्ट्रिय सङ्ग्रहालय परिषरमा भौतिक संरचना निर्माण कार्यले गति लिन थालेको छ । संग्रहालयमामा डिपिआर अनुसार एउटा भवन निर्माण भैसकेको छ भने तिलक पोखरीलाई आकर्षक बनाईएको छ ।
तारवार, भ्युटावरसम्मको पैदलयात्राका लागि सिँढी लगायतका संरचनापनि निर्माण सम्पन्न भैसकेको छ । थिएटर हल, भूमेस्थान, ध्यान केन्द्र, ओपेरास्थल, पाहुना घर, बाल बगैँचा, फाउन्टेनपार्क लगायत संरचना बनाउने तयारी छ ।
यसैबीच भी.न.पा १ सुस्पाक्षमावतीका स्व. कुल बहादुर थामीको स्मृतिमा संग्रहालय परिसरमा निर्माण गरिएको प्रतिक्षालय संगहालय व्यवस्थापन पक्षलाई हस्तान्तरण गरिएको छ । स्वर्गिय कुल बहादुरको प्रथम बार्षिकीको अवसर पारेर बुधवार एक कार्यक्रमकाबीच प्रमुख अतिथि, भीमेश्वर नगरपालिकाका मेयर भरत केसि लगायतले संग्रहालयको व्यवस्थापन गरिरहेको यापती सोनारी संरक्षण तथा संबद्र्धन समाज नेपालका अध्यक्ष भानुदास थामीलाई प्रतिक्षालय हस्तान्तरण गरे ।
करिब ३ लाखको लागतमा निर्माण गरिएको प्रतिक्षालय निर्माणका लागि स्वर्गिय कुल बहादुरकी श्रीमती जमुना थामी, छोरी काली थामी, शुशिला थामी श्रेष्ठ, ज्वाँई बृष बहादुर थामी र लक्ष्मी श्रेष्ठले आर्थिक सहयोग गरेका थिए । साथै कार्यक्रममा उनीहरुले यापती सोनारी सोनारी संरक्षण तथा संबद्र्धन समाज नेपाललाई १५ हजार रुपैयाँ नगद सहयोग समेत प्रदान गरेका छन् ।
स्थानीय जेष्ठ नागरिक वीर बहादुर थामीको अध्यक्षतामा भएको कार्यक्रममा भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेत, जिल्ला समन्वय समिती दोलखाका सदस्य तथा प्रबक्ता मुररीराज शिवाकोटी, भीमेश्वर नगरपालिका १ का वडा अध्यक्ष वीर बहादुर थामी लगायतले मन्तव्य व्यक्त गरे । कार्यक्रममा बृष बहादुर थामीले स्वागत मन्तव्य व्यक्त गरे भने गोपाल बहादुर थामीले सहजीकरण गरेका थिए ।
संग्रहालयका अध्यक्ष भानुदास थामीले राष्ट्रिय थामी संग्रहालय परिसरमा भौतिक संरचना निर्माण कार्य जारी रहेको र जोकोही दाताले डिपिआर अनुसार भौतिक संरचना निर्माण गर्नसक्ने जानकारी दिए ।