काठमाण्डौं - लोक सेवा आयोगले निजामति सेवामा प्राविधिक लगायत विभिन्न पदमा दरखास्त खुल्ला गरेको छ । करिब तीन सय पदका लागि आयोगले दरखास्त आव्हान गरेको हो ।
बुधबार सूचना निकालिएको सूचनामा राजपत्रांकित तृतीय श्रेणी प्राविधिक तथा स्वास्थ्य सेवाका सातौं र आठौं तहका पदमा खुला र समावेशीतर्फ लिखित परीक्षाको विज्ञापन गरिएको छ । आयोगका अनुसार दरखास्त मंसिर १६ गतेसम्म दिइसक्नुपर्नेछ ।
निजामति सेवातर्फ २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र स्वास्थ्य सेवातर्फ २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन सक्नेछन् । बहालवाला निजामति कर्मचारीको हकमा भने उमेरहद लाग्ने छैन । परीक्षा मिति तय भैसकेको छैन ।
आयोगलाई यी पदमा विज्ञापनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिफारिस गरेको थियो । ३० प्रतिशत आन्तरिक बढुवा र बाँकी खुलाबाट यी पदमा पदपूर्ति गर्ने जनाईएको छ ।