इटाली र नेपालका संस्कृति धेरै हिसाबले मिल्दैनन्, हावापानी भने लगभग उस्तै छ । यी सबै कुरा त भन्ने कुरा न भए, तर मन मिलेपछि सबै कुरा तपसिलको बन्दो रहेछ ।
एक पूर्व छापामार ठिटो । सन् २०१४ को एक दिन एक हूल युवा लिएर तत्कालीन मेलम्ची खानेपानी आयोजनाको ठेकेदार इटालीयन कम्पनी सीएमसी द रेभेना अफिस पुग्छ । काम नदिएको झोकमा कम्पनी म्यानेजरसँग वादविवाद चल्छ । स्थानीयहरूले विवाद गर्न थालेपछि कम्पनीका आयोजना म्यानेजर समाधान खोज्ने जिम्मेवारी आफ्नो पब्लिक रिलेसन अफिसरलाई सुम्पिन्छन् ।
अफिसरलाई त्यो ठिटोसँग कुराकानी गर्न जति खुलदुली लाग्छ, त्योभन्दा धेरै कसरी डिल गर्ने भन्ने तनाव । ती पब्लिक रिलेसन अफिसर हुन्छिन्— फेडेरिका रिकाडोन्ना । पूर्व छापामार हुन्छन्— रवीन्द्र अर्याल ।
इटालीको तेन्त्रो सहरकी २८ वर्षीया फेडेरिका र सिन्धुपाल्चोक थकनीका त्यति नै वर्षका रवीन्द्रबीच दरबारमार्गको एक कफी सपमा पहिलो भेटको अवसर जुर्छ । रवीन्द्र र उनका स्थानीय साथीहरूको असन्तुष्टि समाधान गर्नका लागि फेडेरिकाले उनलाई दरबारमार्गको कफी सपमा बोलाउँछिन् । त्यही नै उनीहरूको पहिलो भेट हुन्छ ।
त्यो भेटमा समस्याकै विषयमा कुराकानी हुन्छ, कफी पिउँछन् र छुट्टिन्छन् । ‘कामकै सिलसिलामा पहिलो भेट भएको हो,’ रवीन्द्र सम्झन्छन्, ‘सुरुमा त भनाभन पनि भयो ।’ त्यही कारण कहिलेकाहीं त हप्तौंसम्म उनीहरूको बोलचालसमेत हुन्नथ्यो । स्थानीयको असन्तुष्टि लिएर रवीन्द्रले भेट्ने पहिलो व्यक्ति नै फेडेरिका बन्न थालिन् । त्यसले भेटघाटलाई नियमित बनायो ।
परिस्थितिले जोडेको सम्बन्ध
उनीहरू एक–अर्कासँग नबोली सुखै थिएन । नभेटी काम बन्दैनथ्यो । रोचक के भइदियो भने कामको सिलसिलामा हुने झगडाले उनीहरूलाई टाढा बनाउनुको साटो घनिष्ट बनायो । काठमाडौं र मेलम्ची अफिसमा उनीहरूको भेटघाट बाक्लिन थाल्यो । ‘कामको सिलसिलामा अफिसमा भेटिन्थ्यो,’ रवीन्द्र थप्छन्, ‘अरू बेला काठमाडौंमा भेट्थ्यौं ।’ सीएमसीको हेड अफिस दरबारमार्गमा थियो । हेड अफिसमा कामको सिलसिलामा आउने मौका पारेर उनी सुटुक्क फेडेरिकासँग आँखा जुधाइहाल्थे ।
इटाली र नेपालका संस्कृति धेरै हिसाबले मिल्दैनन्, हावापानी भने लगभग उस्तै छ । यी सबै कुरा त भन्ने कुरा न भए, तर मन मिलेपछि सबै कुरा तपसिलको बन्दो रहेछ । निरन्तर फोन सम्पर्क, ह्वाट्सएपमा दिनहुँ घण्टौंसम्म निरन्तर हुने कुराकानी, सेयरिङ र केयरिङले दुवै नजिक हुन थाले । ‘बानी–व्यवहारले हामीलाई जोड्यो,’ फेडेरिका थप्छिन् । एक–अर्कामा केयर गर्ने, खाना खायो कि खाएन भनेर ख्याल गर्ने, एउटालाई सामान्य रुघाखोकी लाग्दा अर्कालाई चिन्ता हुनेजस्ता स–साना कुराले उनीहरूलाई निकट ल्याउन भूमिका खेले ।
एकअर्काको ख्याल, बाक्लिँदो भेटघाट र बढ्दो संवादले दुवैको सम्बन्धमा मधुरताको बीजारोपण भइदियो । त्यही मधुरता ‘अन्तरदेशीय प्रेम’मा परिणत हुन धेरै समय लागेन । ‘राम्रा–नराम्रा कुराको सेयरिङ जोसँग गरिन्छ, त्यहीँ प्रेम हुन्छ,’—अन्तरदेशीय यो जोडीको प्रेमबारेको बुझाइ छ । भेट भएको तीन महिनामै फेडेरिकाले रवीन्द्रलाई मन दिइन्, रवीन्द्रले फेडेरिकालाई मुटु दिए । मन र मुटु नै साटिसकेपछि अरू त के कुरा भए र रु प्रेम भएपछि उनीहरूका सबै कुरा बदलिए । उनीहरू पहिलो पटक नगरकोट डेट गए । दुवै अलग–अलग ठाउँमा डेरा लिएर बसिरहेका उनीहरू लिभिङ टुगेदरमा बस्न थाले । दुई वर्षसम्म लिभिङ टुगेदरमा बसेपछि विवाह गर्ने निर्णय लिए ।
फेडेरिकाको परिवारमा त इटालीदेखि नेपालमा हुने ‘अन्तरदेशीय विवाह’का लागि कुनै रोकतोक थिएन, तर रवीन्द्रको परिवारमा भने सजिलै स्वीकार गर्ने वातावरण थिएन । ‘दुई परिवारबीचको संस्कृति नै मिल्दैन भन्ने गुनासो परिवारको थियो,’ रवीन्द्र सुनाउँछन् । तैपनि, उनले परिवारलाई सम्झाएर सन् २०१५ मा सिन्धुपाल्चोक जिल्ला अदालतमा कोर्ट म्यारिज गरे । त्यसपछि उनीहरू इटली हानिए, इटलीमा पनि उनीहरूको विवाह भयो, नजिककालाई पार्टी दिए, जसमा नेपालबाट रवीन्द्रका दाइ पनि पाहुनाका रूपमा सहभागी भए ।
अहिले भौगोलिक दूरीका अवरोधलाई छिचोल्दै विकसित उनीहरूको ‘अन्तरदेशीय विवाह’ सुमधुर चलिरहेको छ । बिहेपछि दुवै जना मिलेर गरिमा भोएज ट्राभल एन्ड टुर सञ्चालनमा ल्याएका छन् । त्यसमा फेडेरिकाले पब्लिक रिलेसन को–अर्डिनेसन गर्छिन् भने रवीन्द्र पर्यटनसँग सम्बन्धित काममा सक्रिय छन् । उनीहरूको बसोबास आधा नेपालमा र आधा इटालीमा हुन्छ ।
२०६० सालमा एसएलसी दिनुअघि नै रवीन्द्र जनयुद्धमा लागेका हुन् । माओवादी शान्ति प्रक्रियामा आएपछि उनले एसएलसी उत्तीर्ण गरे पनि पढाइलाई अगाडि बढाउन सकेनन् । फेडेरिकाले भने पादोबा युनिभर्सिटीबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छिन् । प्रेमलाई एकातर्फ र कामलाई अर्कातिर छुट्याएर यो जोडीले आफ्नो प्रेमविवाहलाई लयमा अगाडि बढाइरहेको छ । प्रत्यक्ष र जीवन्त संवाद उनीहरूको सुमधुर सम्बन्धको बलियो कडी हो ।
सानै किन नहोस्, अन्तरदेशीय विवाहबाट फाइदा लिन उनीहरू इटाली र नेपाल जोड्ने सेतु बन्न सक्रिय छन् । पर्यटन प्रवद्र्धनका कामहरू गर्छन् । दुई वर्षअघि इटालीको एउटा सहरमा नेपालको झन्डा राख्ने काममा उनीहरूले नै अगुवाइ गरेका थिए । तीन वर्षयता प्रत्येक वर्ष नेपालको समूह लिएर इटाली भ्रमण गराउँछन् । इटालीबाट नेपाल घुम्ने मानिसहरू लिएर आइरहेका हुन्छन् । पर्यटन प्रवद्र्धन र त्यसमा पनि होमस्टेमा उनीहरू केन्द्रित छन् । इटालियन ठेकेदार कम्पनी सीएमसी दी रेभेनाले मेलम्ची खानेपानी आयोजनासँग बीचमै नाता तोडे पनि नेपाल र इटालीबीच घर–माइतीको नाता जोड्ने पुलको काम यो जोडीले गरिरहेको छ ।