Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
रअ र सेनाप्रमुखपछि भारतिय विदेश सचिव किन आउँदैछन् नेपाल ?

काठमाडौँ — भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय गुप्तचर संस्था रअका प्रमुख र स्थल सेना प्रमुख नेपाल भ्रमण गरी फर्किएको केही समयपछि विदेश सचिव स्तरिय भ्रमण हुन लागेको हो । विदेश सचिव श्रृंगलाको यो भ्रमणलाई निकै अर्थपुर्ण रुपमा हेरिएको छ ।

पछिल्लो समय सीमा विवादका कारण नेपाल र भारतबीच विगत एक वर्षदेखि ‘औपचारिक संवाद’ हुन सकेको छैन । संवादहिनता अन्त्य गरेर दुईदेशीय सम्बन्ध सुधार गर्ने उदेश्य भ्रमणको रहेको जानकारहरु बताउँछन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भ्रमण छिट्टै हुने भनिएपनि मिति भने तय भैसकेको छैन । यद्यपी श्रृंगला आगामी मंसिर ११ मा दुई दिने नेपाल भ्रमणमा आउने भारतिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

भारतीय विदेश सचिवको भ्रमणलाई नेपालसँगको सम्बन्ध सघन बनाउँदै जाने दिल्लीको प्रयासका रुपमा जानकारहरुले विश्लेषण गरेका छन् । अघिल्लो साता मात्र भारतीय स्थलसेना प्रमुख मनोज मुकुन्द नरवणे तीन दिने भ्रमण गरी फर्किएका थिए ।

त्यसअघि कात्तिकको पहिलो साता भारतीय जासुसी संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल नेपाल आएका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत भेट गरे । विदेश सचिव श्रृंगला पहिलो पटक आफ्नो निकट छिमेकी मुलुक नेपाल भ्रमण गर्न लागेका हुन् ।

भारतले कालापानीलगायतका क्षेत्र समेटेर नयाँ राजनीतिक नक्साप्रकाशन गरेर नेपाली भूमि भएर पिथौरागढ–लिपुलेक सडकको उद्घाटन गरेपछि नेपाल–भारत सम्बन्ध चिसिएको छ । श्रृंगलाले भ्रमणमा क्रममा सीमा विवाद, केही जलविद्युत आयोजना लगायतका विषयमा उच्च स्तरिय भेटघाट र छलफल गर्ने बताईएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०७७  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update