काठमाडौं - सरकारले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको नियुक्ति दिएको छ । उर्जा मन्त्रालयका अनुसार अर्को व्यवस्था नभइन्जेलसम्मका लागि उनलार्य निमित्त प्रमुखको जिम्मेवारी तोकिएको हो । शाक्यले पदभार ग्रहण गरिसकेको छन् ।
यसअघि उनी उपकार्यकारी निर्देशकको जिम्मेवारीमा थिए । शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर नियुक्ति दिइएको हो । यसअघि ऊर्जा मन्त्रालयले कुलमान घिसिङको कार्यकाल सकिएपछि प्राधिकरण हाजिर गरिरहेका उपकार्यकारीमध्येबाट लेखनाथ कोइरालालाई बरिष्ठताका आधारमा निमित्तको जिम्मेवारी दिएका थिए ।
घिसिङको पुर्ननियुक्त गर्न असहमत भएका प्रधानमन्त्री केपी शर्मा ओली उक्त निर्णयमा असन्तुष्ट थिए । प्रसारणलाइनका जानकार मानिने शाक्य २०७३ अघि अमेरिकी सहयोग कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तरगत तयारी चरणको परियोजनामा पनि खटिएका थिए । प्राधिकरणबाट घिसिङ बाहिरएपछि शाक्यले प्राधिकरणको कार्यकारी निर्देशकमा आफ्नो दावेदारी प्रस्तुत गरेका थिए ।