Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
पार्टीको सचिवालय बैठक राख्न बहुमत सदस्यको ओलीलाई लिखित पत्र

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ५ नेताहरुले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचिवालयको औपचारिक बैठक राख्न लिखित पत्र बुझाएका छन् ।

उक्त पत्र बुझाउन कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ वालुवाटार पुगेका थिए । पत्रमा सचिवालयको औपचारिक बैठक दुई दिनभित्र राख्न माग गरिएको छ ।

सचिवालयका बहुमत सदस्यले लिखित पत्र बुझाएर बैठक माग गर्दैगर्दा अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीले खासै प्रतिक्रिया नदिएको स्रोतले बतायो ।

पत्रमा कोरोना महामारी, त्यसको पैदा गरेको संकट सम्बोधन गर्न, पार्टीभित्रको स्थायी कमिटीको निर्णय कार्यान्वयन गर्न र समीक्षा गर्न र उत्पन्न संकट समाधान गर्न पार्टीको बैठक राख्नुपर्ने विषय उल्लेख छ । स्रोतका अनुसार वालुवाटारमा दुई अध्यक्षबीच पत्र बुझाउने क्रममा केही सवाल जवाफ भएको थियो ।

​नेकपाभित्र पछिल्लो समय संघीय सरकारको मन्त्रिपरिषद् पुनर्गठन, राजदूत नियुक्त, कर्णाली प्रदेश सरकारको किचलो, प्रधानमन्त्री ओली र भारतीय खुफिया एजेन्सी रअ प्रमुख सामन्त कुमार गोयलबीचको भेट र पर्सामा मुकेश चौरिसयाको हत्यालगायत घटनाले विवाद बढेको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०७७  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update