Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाका प्रसिद्ध शक्तिपिठहरुको दर्शनका लागि नआउन स्थानीय प्रशासनको आग्रह

चरिकोट - स्थानीय प्रशासनले दोलखाका प्रसिद्ध शक्तिपिठहरुको भ्रमण नगर्न आग्रह गरेको छ । जिल्ला स्थित मठमन्दिर र शक्तिपिठहरुमा निषेधाज्ञा जारी गरिएपनि मानिसहरु जाने क्रम नरोकिएपछि स्थानीय प्रशासनले यस्तो आग्रह गरेको हो ।

विशेषगरी प्रसिद्ध कालिञ्चोक भगवतीको दर्शन र त्यस क्षेत्रको भ्रमण गर्ने क्रम रोकिएको छैन । जिल्ला संकट व्यवस्थापन केन्द्रको तर्फबाट शनिवार जारी गरिएको सार्वजानिक सूचनामा मन्दिर क्षेत्र सिल गरिएकाले भ्रमण नगर्न भनिएको छ । सूचना अनुसार कुरीबजार स्थित प्रहरी चौकी भन्दा माथि, घ्यांगडाँडा टुटुवानको तेर्सो बाटो भन्दा माथि नपाउने गरी पुर्ण रोक लगाईएको छ ।

जिल्ला बाहिरबाट आउने पर्यटकहरुका लागि विभिन्न स्थानमा सूचना बोर्डसहित सूचित गरिएकाले त्यसको अवज्ञा गरे नियमानुसार कारबाही गर्ने चेतावनी प्रशासनले दिएको छ ।

जिल्ला संकट व्यवस्थापन केन्द्रले यसअघि नै कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्येनजर गर्दै मठमन्दिर तथा शक्तिपिठहरुमा नित्यपूजा बाहेक अन्य पूजा दर्शन लगायतका कार्यमा पुर्ण रोक लगाएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०७७  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update