काठमाडौं - भूकम्पपीडितहरुले निजी आवास पुर्ननिर्माण गर्नुपर्ने अन्तिम समयसिमा सार्वजानिक भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि अनुदान लिने नयाँ तथा अन्तिम समयसीमा तय गरेको हो ।
प्राधिकरणको कार्यकारी समितिको बैठकको निर्णय अनुसार हालसम्म कायम भएका पुनर्निर्माण तथा प्रवलीकरण लाभग्राहीहरुले २०७७ मंसिर मसान्तसम्म अनुदान सम्झौता गरी पुस १५ सम्ममा पहिलो किस्ता लिई सक्नु पर्नेछ ।
यस्तै पहिलो किस्ता लिइसकेका सबै पुनर्निर्माण लाभग्राहीहरुले घर निर्माण सुरु गरी दोस्रो किस्ता लिनका लागि माघ मसान्तसम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनुपर्ने समयसिमा निर्धारण गरिएको छ । सम्पूर्ण पुनर्निर्माण तथा प्रवलीकरण लाभग्राहीहरुले तेस्रो तथा अन्तिम किस्ता लिनका लागि २०७८ वैशाख मसान्तसम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनु पर्नेछ ।
प्राधिकरणको कार्यावधि नै सकिनँ लागेकोले यो नै अन्तिम समयसीमा हुने प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताए । यसैगरी साविक घर भत्काई नयाँ घर निर्माण गर्न चाहने प्रवलीकरण लाभग्राहीलाई यथाशीघ्र सम्बन्धित जिल्ला आयोजना कार्यान्वयन इकाईमा निवेदन दिन प्राधिकरणले आग्रह गरेको छ ।