कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम तत्काल लागु नगर्न सर्वोच्चको आदेश
काठमाडौं - कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम तत्काललाई लागु नहुने भएको छ । सर्वोच्च अदालतका न्यायधिश पुरुषोत्तम भण्डारीको एकल इजलाशले नयाँ पाठ्यक्रम लागु नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको हो ।
सर्वोच्चले अन्तरिम आदेशका लागि भने दुबै पक्षलाई कात्तिक २६ गते छलफलमा बोलाएको छ । अदालतको आदेशमा छलफलबाट अन्तिम आदेशको टुङ्गो नलागेसम्म विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ कार्यान्वयन नगरी यथास्थ्तिमा राख्न भनिएको छ ।
नयाँ पाठ्यक्रम लागु नगर्न माग गर्दै भागवता अर्याल लगायतले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा सर्वोच्चले प्रारम्भिक सुनुवाई गरेको हो । अदालतले विपक्षीलाई नयाँ पाठ्यक्रम लागू गर्नुको कारणबारे १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि भनेको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०७७ १८:०७
प्रतिक्रिया दिनुहोस्