जिरी – जिल्ला समन्वय समिति दोलखाले विकास निर्माणका कार्यहरुमा लक्षित समुदायको सहभागिता बढाउन स्थानीय सरकारलाई आग्रह गरेको छ । जिल्लाका स्थानीय तहहरुको प्रथम चौमासिक कार्यसम्पादन अनुगमनका क्रममा जिससको टोलीले यस्तो आग्रह गरेको हो ।
जिरी नगरपालिकाको चौमासिक कार्यसम्पादन अनुगमनका क्रममा जिसस प्रमुख डवल पाण्डेले स्थानीय तहहरुले सन्तुलित विकासको लागि लक्षित समुदायलाइ निर्णय र कार्यन्वयन प्रक्रियामा सहभागी गराउनुपर्नेमा जोड दिए । विकास निर्माण कार्यलाई सन्तुलिन बनाउन जनसहभागिता बढाउन जरुरी छ, पाण्डेले भने ।
जिससको अनुगमन टोलीसँग जिरी नगरपालिकाले आगामी कात्तिक मसान्तभित्रै सबै योजनाहरुको सम्झौता कार्य सम्पन्न गर्ने जानकारी गराएको छ । कात्तिक मसान्तभित्र योजना सम्झौता सकेर कार्यान्वयनलाई तिब्रता दिने नगरपालिकाको तयारी छ । जसमा १ सय ८ वटा उपभोक्ता समिति र ३ वटा योजना वोलपत्र मार्फत कार्यान्वयनमा आउनेछन् । नगरपालिकाका कार्यबाहक प्रमुख प्रशासकिय अधिृकत अर्जुन गौतमले उपभोक्ता समिति गठन कार्य सम्पन्न भैसकेको र कात्तिक महिनाभित्रै सम्झौता सम्पन्न गरिसक्ने जानकारी दिए ।
जिल्ला समन्वय समितिले आईतवार गरेको चौमासिक कार्यसम्पादन अनुगमनका क्रममा यस्तो जानकारी गराईएको हो । नगरपालिकाका अनुसार हालसम्म बिभिन्न २४ वटा ऐत, कार्यविधि, कानुन जारी गरिएको छ । नगर प्रमुख टंक जिरेलले आवश्यकताका आधारमा नीतिगत व्यवस्थाहरु थप गर्दै जाने बताए । जिल्ला समन्वय समितिले जिल्लाका ९ वटै स्थानीय तहको प्रथम चौमासिक कार्यसम्पादन अनुगमन कार्य जारी राखेको छ ।