बेइजिङ — चिनियाँ कम्पनीले बनाइरहेको कोरोना भाइरसविरुद्धको खोप पहिलो र दोस्रो चरणको परीक्षण सफल भएको छ । चिनियाँ सरकारद्वारा सञ्चालित सिनोफार्म कम्पनीले विकास गरिरहेको कोरोना खोप बीबीआईबीपी–कोरभीको पहिलो र दोस्रो चरणको परीक्षण सफल भएको द ल्यान्सेट जर्नलमा प्रकाशित एक रिर्पोटमा उल्लेख छ ।
१८ देखि ८० वर्ष उमेर समूहका व्यक्तिहरुमा खोपको परीक्षण गरिएको थियो । पहिलो र दोस्रो चरणको परीक्षणमा सहभागी व्यक्तिलाई गम्भीर प्रकृतिको कुनै नकारात्मक प्रतिक्रिया नदेखिएको र शरीरमा एन्टीबडी पनि विकास भएको पाईएको छ ।
६० वर्षभन्दा माथिका व्यक्तिमा एन्टीबडी बन्न बढी समय (४२ दिन) सम्म लागेको अध्ययनले देखाएको छ ।
रिपोर्टका अनुसार युवा उमेर समूहका सहभागीमा भने २८ दिनसम्ममा एन्टीबडी विकास भएको छ । कम उमेर समूहका व्यक्तिमा भन्दा वृद्धवृद्धामा एन्टीबडीको मात्रा कम भएको अध्ययनमा देखिएको छ ।