भोटेकोसी - गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले सिन्धुपाल्चोकको उत्तरी क्षेत्रमा भ्रमण गर्ने पर्यटकहरुलाई लक्षित गरेर होमस्टे कार्यक्रम सुरु गरेको छ । संरक्षण क्षेत्रले आफ्नो कार्यक्षेत्र पर्ने सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा होमस्टे कार्यक्रम सुरु गरेको हो ।
बाह्रबिसे नगरपालिका १ भोटेकोशी गाउँपालिका १ र ५, जुगल गाउँपालिका १ र ५, जुगल गाउँपालिका ३ र त्रिपुरासुन्दरी गाउँपालिका १ गरी ८ वटा वडाहरु संरक्षण क्षेत्रमा पर्दछ । भोटेकोशी गाउँपालिका वडा नम्बर ५ चाकुमा विहिवार आयोजित कार्यक्रममा १५ घरपरिवारलाई होमस्टेका लागि आवश्यक सामाग्री बितरण गरेर कार्यक्रम सुरु गरिएको हो ।
संरक्षण क्षेत्र आयोजना तथा संरक्षण क्षेत्र व्यवस्थापन समिति, लिस्तीकोटले भैरबकुण्ड पदमार्गमा पर्ने लिस्तिकोटका ५, छगाम बगामका ५, र दुगुनागढी क्षेत्रका ५ घरलाई होमस्टेका रुपमा संचालन गर्न बितरण गरिएको जनाएको छ । भोटेकोशी गाउँपालिका उपाध्यक्ष दाबुटी शेर्पाले र १ नम्बर वडा अध्यक्ष मुके शेर्पाले घरबास कार्यक्रम संचालनको लागि आवश्यक दुई, दुई थान सिरक, डस्ना, सिरानी, तन्ना तथा पर्यटकको लागि टावेल, ऐना, कार्पेट, डस्टवीन, चप्पल, ह्याङ्गर, होमस्टे बोर्ड लगायतका सामग्रीहरु सम्बन्धित व्यक्तिहरुलाई हस्तान्तरण गरे ।
होमस्टे संचालन गर्ने घरधनीले कम्तिमा एकवटा कोठा पर्यटकको सूविधाको लागि छुट्याएर सुविधाजनक शौचालय व्यवस्थापन गर्नुका साथै स्थानीय परिवेश झल्किने परिकार, भेषभुषा, नाचगान तथा दृष्यावलोकन गराउने बताईएको छ । आयोजनाका तर्फबाट कार्यालय ईन्चार्ज विष्णु पाण्डले कोभिड १९ को महामारी सामान्य भएपछि होमस्टे संचालन, कुकिङ बेकिङ, पाहुना सत्कार, फोहर व्यवस्थापन, लगायत पर्यटन सेवाका आधारभूत तौरतरिकाहरुबारे स्थानीय सरकारसँग समन्वय गरी तालिम संचालन गरिने जानकारी दिए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शेर्पाले स्थानीय सरकारले पनि पर्यटन प्रवर्धनको लागि होमस्टे संचालन, पर्यटकीय गन्तव्य पहिचान, संरचनाहरुको मर्मत संभार गर्ने तथा पर्यटन सुविधाको विस्तारको लागि स्थानीय सरकारको पूर्ण सहयोग रहने बताईन् ।
होमस्टे संचालकहरुले सबैको सल्लाहमा होमस्टे कार्यक्रम प्रभावकारी रुपमा संचालन गरी आयआर्जन बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । आयोजनाले भैरबकुण्ड पदमार्गमा सूचना बोर्डहरु राख्ने तथा पदसूचक चिन्हपट राख्ने कार्य समेत गरिरहेको छ । होटल तथा रिसोर्टहरु उपलब्ध नभएकाले होमस्टे संचालनमा आएपछि पर्यटक तथा आगन्तुकहरु प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ । वडा अध्यक्ष मुके शेर्पाले होमस्टेबाट स्थानीय बासिन्दाहरुको जीविकोपार्जन तथा स्थानीय परम्परा, रितिरिवाज र धर्मसंस्कृतिको पनि संरक्षण एवं प्रवर्धनमा टेवा पुग्ने बताए ।
पर्यटकीय दृष्टिले लिस्तीमाई मन्दिर, जिल्लाकै उच्च भूभागमा रहेका बगाम छगाम गाउँ, पवित्र भैरबकुण्ड ताल, ऐतिहासिक दुगुनागढी र तातोपानी क्षेत्र महत्वपुर्ण मानिन्छ । होमस्टे संचालनसँगै यस क्षेत्रमा भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले केही दिन बिताएर धार्मिक साँस्कृतिक सम्पदा, प्राकृतिक दृष्यावलोकन, साहसिक पर्यटनमा रमाउन सक्ने गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका अधिकारीहरुले बताएका छन् ।