चरिकोट - जिल्ला समन्वय समिति स्थानीय तहको चौमासिक कार्यसम्पादन अनुगमनमा सक्रिय भएको छ । स्थानीय तहले संचालन गर्ने कार्यसम्पादन र सेवा प्रवाहलाई प्रभावकारी बनाउन जिससले अनुगमन कार्यलाई तिव्रता दिएको हो । जिससले जिल्लाको गौरीशंकर गाउँपालिका र भीमेश्वर नगरपालिकामा अनुगमन कार्य सम्पन्न गरेको छ ।
जिसस प्रमुख डबल पाण्डेले सबैले अनुभुति गर्नेगरी स्थानीय सरकारका कामलाई व्यवस्थित र परिणाममुखि बनाउन अनुगमन कार्यलाई जोड दिईएको बताए । जिससले बुधवार भिमेश्वर नगरपालिकाको कार्यसम्पादन अनुगमन सम्पन्न गरेको छ । अनुगमन समापन कार्यक्रममा आर्थिक प्रशासन प्रमुख जगदिश अर्यालले भीमेश्वर नगरपालिकामा चालु आर्थिक वर्ष २०७७ र ७८ मा कुल बजेट ८६ करोड ७३ लाख ४८ हजार रहेको जानकारी गराए ।
जसमा चालु तर्फ ३९ करोड ६० लाख ५ हजार र पूजिगत तर्फ ४६ करोड ९८ लाख ४३ हजार र वित्तीय व्यवस्थापन तर्फ १५ लाख रहेको छ । उक्त बजेटले १ सय ८४ वटा योजना समेटिएको अर्यालले बताए । नगरपालिकाको ११ वटा योजना बोलपत्र मार्फत सञ्चालन हुने छन् भने १ सय ८४ वटा योजना उपभोक्ता समिति मार्फत कार्यान्वयन हुनेछ । सबै योजनाको उपभोक्ता समिति गठन गरेर अभिमुखिकरण समेत सम्पन्न भइसकेको नगरपालिकाले जनाएको छ ।
कात्तिक महिनाभित्रै योजना सम्झौता सक्ने नगरको लक्ष्य छ । बोलपत्र मार्फत सम्पन्न हुने योजनाहरु मध्ये ४ वटाको बोलपत्र आव्हान भैसकेको छ भने बाँकिको कार्तिक मसान्त भित्र सम्पन्न भइसक्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्काले जानकारी दिए । जिससको कार्यसम्पादन अनुगमन टोलीसँग नगर प्रमुख भरत केसिले हालसम्म ३१ वटा ऐन, कार्यविधि , कानुन जारी भएको र आवश्यकताका आधारमा थप जारी हुने जानकारी दिए ।
कार्यक्रममा जिसस प्रमुख पाण्डेले समयमै कार्यसम्पादनका लागि योजना बनाई सो अनुसार कार्यन्वयनमा लाग्न नगरपालिकाले उद्देश्य किटानि गरेर लक्ष्य निर्धारण सहित काम गर्न सुझाव दिएका थिए ।