काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठन गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्मा हेरफेर गरेकी हुन् ।
राष्ट्रपतिको कार्यालयले विज्ञप्ती जारी गर्दै संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्मा नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको जनाएको छ । नेकपा महासचिव विष्णु पौडेलले नयाँ मन्त्रिपरिषद्मा अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् । यसअघिका अर्थमन्त्री युवराज खतिवडाले ६ महिनाभित्र संसद सदस्य बन्न नसकेपछि राजीनामा दिएका थिए ।
नयाँ हेरफेर अनुसार उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ । उनले सम्हाल्दै आएको रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् ।
यसैविच यसअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हालेका पार्वत गुरुङले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन् । दोस्रो पटक पुर्नगठित मन्त्रिपरिषदमा उनले महत्वपुर्ण मानिएको संचार मन्त्रालयको जिम्मेवारी पाएका हुन् । महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारीमा रहँदा उनले नीतिगत सुधारदेखि संघसंस्थामा भएको बेथिति अन्त्यका लागि ठोस पहल सुरु गरेका थिए ।
उनले सामाजिक क्षेत्रलाई राष्टिय गौरवको योजनाका रुपमा स्थापित गराउने महत्वकांक्षी योजना अघि सारेका छन् । मंगलवारमात्रै सामाजिक उद्यमशिलता कोषको औपचारिक शुभारम्भ गरेका थिए । महिला विरुद्धको हिंसा अन्त्य, जेष्ठ नागरिक र वालवालिका क्षेत्रमा समेत उनले ठोस कामहरु सुरुवात गरेका छन् । उनले सम्हालेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा लिलानाथ श्रेष्ठलाई दिइएको छ ।