चरिकोट – दोलखा भिमेश्वर नगरपालिका वडा नम्बर १ का कार्यालय सहयोगीको शंकास्पद मृत्यु छानविनको माग गर्दै स्थानीय गरेको सडक अबरोध प्रहरीले खुलाएको छ ।
विहानैदेखि अबरोध गरिएको चरिकोट सिंगटी सडक अन्तर्गत सुस्पाक्षमावती खण्ड प्रहरीले वल प्रयोग गरेर खुलाएको हो । सडक अबरुद्ध गरिएपछि प्रमुख जिल्ला अधिकारी, डिएसपी सहितको टोली घट्नास्थल पुगेको थियो । अबरोध खुलेपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।
१ नम्बर वडा कार्यालयमा काम गर्दै आएका ३५ वर्षिय गोपी थामी बुधवार विहान मृत अवस्थामा फेला परेका थिए । मंगरबार विहानदेखि घरबाट निस्केका थामीलाई चरिकोट÷सिंगटी सडक अन्तर्गत सुस्पाक्षमावती खण्डको नालामा मृत अवस्थामा फेला पारिएको स्थानीयले बताएका छन् । स्थानीय जंग थामीका अनुसार मृतकको टाउकोमा गम्भिर चोट लागेको र शव फेला परेको स्थानबाट करिव डेढ सय मिटरको दुरीमा रगत देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता प्रहरी निरीक्षक रञ्जन कोईरालाले शव पोष्टमार्टमका लागि सदरमुकाम चरिकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्र ल्याईएको र घट्नाबारे अनुसन्धान भैरहेको बताए ।