चरिकोट - जिल्लामा कोरोना (कोभिड १९) को जोखिम बढ्दै गएका बेला वेलायतमा बस्ने नेताहरुले सहयोग स्वरुप अक्सिजन उपलव्ध गराएका छन् । कालिञ्चोक गाउँपालिका घर भई हाल वेलायत बस्दै आएका लक्ष्मण चिमोरियाको पहलमा खरिद गरिएको उक्त अक्सिजन शनिवार जिल्ला विपद व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।
अमेरिकामा बनेको न्युमो लाइट अक्सिजन पत्रकार महासंघ दोलखा जिल्ला शाखाका अध्यक्ष जीवन लामाले जिल्ला विपद व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीलाई हस्तान्तरण गरे ।
महासंघ दोलखा शाखाकी सचिव विनिता शिवाकोटीका अनुसार महासंघको समन्वयमा जिल्ला ल्याईएको सामग्री शनिवार विहान जिल्ला विपद व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो । अक्सिजन मेसिन बुझ्दै प्रजिअ शिवाकोटीले स्वदेशमा परेको विपत्तीका बेला विदेशी भुमीमा रहेर दुःख र मेहेनतका साथ अक्सिजन जस्तो महत्वपुर्ण सामग्री सहयोग प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै यसले विपदमा सहयोग पुग्ने बताए ।
पहलकर्ता लक्ष्मण चिमोरियाले महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको लागि उपयोगी होस् भन्ने उद्देश्यले अक्सिजन मेसिन सहयोग जुटाएको बताएका छन् । अमेरिकामा निर्मित न्युमो लाइट विद्युतिय अक्सिजन मेसिनले प्रतिमिनेट ५ लिटर अक्सिजन उत्पादन गर्ने क्षमता राख्ने बताईएको छ ।