चरिकोट — हिन्दु परम्परा अनुसार कोही व्यक्तिले देह त्याग गरेपछि शवलाई नदी किनार लगिन्छ । चिता बनाईन्छ, बिधिपुर्वक छोराले दागबत्ती दिएपछि जलाएर अस्तु सेलाईन्छ । त्यसपछि छोराहरु कपाल मुण्डन गर्दछन्, किरियापुत्री बस्ने र बरखी बार्ने गर्दछन् ।
तर शुक्रवार दोलखा बैतेश्वर गाउँपालिका वडा नम्बर ७ निवासी क्षेत्री समुदायकी एक बृद्धको मृत्युमा त्यसो हुन सकेन । ८१ वर्षिया बृद्धको मृत्यु भएपछि न आफन्तजन मलामी जान पाए न परिवारले अन्तिम संस्कार गर्न नै । जिउँदाको जन्ती मर्दाको मलामी भन्ने नेपाली उखानको ठ्याक्कै उल्टो भयो । आफन्तहरु न पर्दा भेला हुन सकेका छन् न त मर्दा नै ।
छोराले आफ्नी जन्मदिने आमालाई दागबत्ती दिन समेत पाएनन् । कपाल मुण्डन गरेर किरियापुत्री बस्ने अवस्था समेत बनेन ।
सदरमुकाम चरिकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा शुक्रवार निधन भएकी बृद्धमा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएपछि उनको संस्कार अनुसार अन्योष्टि हुन नसकेको हो । ‘मर्दापर्दा आफन्त/ईष्टमित्र भनिन्थ्यो, तर समय यस्तो आयो कि आफन्त इष्टमित्रबाटै टाढा रहनु पर्नेभयो,’ वडा अध्यक्ष रेशम राजस्वराज रिमालले भने ।
हिन्दु संस्कारको मुल्यमान्यता अनुसार मृतआत्माको चिर शान्ति र स्वर्गरोहणका लागि नदीमा अस्तु सेलाएर पितृलोकतिर विदाई गर्ने चलन छ । ती बृद्धको शवलाई भने प्राथमिक स्वास्थ्य केन्द्रबाट सिधै चरिकोट नजिकैको खोरथली सामुदायिक वनमा सदगत गरियो ।
सरकारको प्रोटोकल अनुसार नेपाली सेनाको तारादल गणले शवको सामुदायिक वनमा व्यवस्थापन गरेको हो । सरकारी प्रोटोकलमा कोरोना पुष्टि भएको शवलाई जलाउन नपाउने नियम छ ।
सेनाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर शवलाई अन्तिम सलामी सहित विदाई गर्दैगर्दा परिवारका सदस्य र आफन्त भने सय मिटरको दुरीमा बस्नुपर्यो । उनीहरूले मृत्युपछिको कर्म गर्न पाएका छैनन् । भारतदेखि आमासँगै आएकाले छोरा क्वारेन्टाईनमै नुन बारेर बस्नुपरेको छ ।
शवको सदगतपछि उनले कपाल समेत मुण्डन गर्न पाएका छैनन् । पीसीआर रिपोर्ट नेगेटिभ आएको ८ दिनपछि मात्रै कपाल मुण्डन गर्न भनिएको छ ।
परिवारमा काजकिरिया गर्न समस्या भएको छ । हिन्दु परम्परा अनुसारको नियम जसरी आफन्तको निधनमा काम गर्न सहज अवस्था छैन ।
रिपोर्ट नेगेटिभ आए ८ दिनबाटै सुरु गरेर मृत्युको १३ दिनमा सबै काम सक्ने परिवारको तयारी छ । परिवारलाई आमाको आत्माले शान्ति पाउँदैन कि भन्ने पिरलो छ ।
वडा अध्यक्ष रिमालको बुझाईमा यो कोरोना कहरले संस्कारमाथि खडा गरेको चनौती हो । “आफन्त गुमाउनुको पिडा एकातिर छँदैछ, त्यसमाथि संस्कार अनुसार अन्त्योष्टि गर्न नपाउँदा अर्को पिडा थपियो, कोरोनाले साँस्कृतिक मुल्य मान्यतामाथि सिर्जना गरेको चुनौती हो, यसलाई मान्नैपर्ने बाध्यता छ, उनले भने ।