Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखामा कोरोना संक्रमितको पहिलो मृत्यु, चरिकोटमा मृत्यु भएकी महिलामा संक्रमण पुष्टि

चरिकोट - दोलखा सदरमुकाम चरिकोटमा मृत्यु भएकी एक बृद्धामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । चरिकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएकी बैतेश्वर गाउँपालिकाकी ८१ वर्षिया बृद्धामा कोरोना पुष्टि भएको हो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि ती बृद्धाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि धुलिखेल पठाईएको थियो । उनको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय स्रोतले पुष्टि गरेको छ ।

बैतेश्वर गाँउपालिका वडा नम्बर ७ घर भएकी ती बृद्धलाई उपचारका लागि बुधवार राती प्राथामीक स्वास्थ्य केन्द्र चरिकोट भर्ना गरिएकोमा बिहिवार विहान मृत्यु भएको थियो । अस्पताल स्रोतका अनुसार ती बृद्धामा निमोनिया र श्वास प्रस्वासमा समस्याको लक्षण देखिएको थियो ।

स्थानीयका अनुसार मृतक महिला १५ दिन अघि भारतबाट आएकी थिईन् । पिएचसीका अनुसार महिलालाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले छुट्टै कोठामा राखेर उपचार गरिएको थियो ।

मृतकको शवलाई शुक्रवार नेपाली सेनाको टोलीले अत्योष्टि गर्दैछ । जिल्लामै मृत्यु भएका व्यक्तिमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि दोलखा जिल्ला घर भएर काठमाण्डौंमा मृत्यु भएका ४ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०७७  ०१:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update