रूपन्देही — प्रदेश ५ सरकारले प्रदेश सभामा पेश गरेको नाम र स्थायी राजधानीको विषयलाई लिएर नेपाली कांग्रेस तोडफोडमा उत्रिएको छ । प्रदेशको नाम र स्थायी राजधानीबारे सभामुखले छलफल अघि बढाएपछि विपक्षी दल कांग्रेसका सांसदहरुले कुर्सी, टेबुल तोडफोड गरेका हुन् ।
तोडफोड र नाराबाजीकैबीच सभामुख पूर्णबहादुर घर्तीले छलफल अघि बढाएका थिए । त्यसपछि कांग्रेस सांसदहरु तोडफोडमा उत्रिएका हुन् । प्रदेशसभाको सोमबारको बैठकमा कानुन तथा आन्तरिक मामिलामन्त्री कुलबहादुर केसीले प्रदेश राजधानी र नामको प्रस्ताव छलफलका लागि पेस गर्ने क्रममा कांग्रेस सांसदहरूले नाराबाजी गर्दै तोडफोड गरेका हुन् ।
मन्त्री केसी प्रस्ताव पेस गर्नका लागि रोष्ट्रममा जाने क्रममा धक्कामुक्की गरेका कांग्रेस सांसदहरूले प्रस्ताव पेश गर्ने क्रममा कुर्सीले टेबुल र माइकमा तोडफोड गरेका थिए । बैठक भोलि बस्ने गरी स्थगित भएको छ ।