Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोउवासंघबाट व्यवसायीनै पीडित, झण्डै ५ सय व्यवसायी सदस्यताबाट बञ्चित

चरिकोट — सदरमुकाममा रेष्टुरेन्ट चलाउँदै आएका व्यवसायी भरत श्रेष्ठले दोलखा उद्योग वाणिज्य संघको सदस्यताका लागि आवेदन दिएको डेढ वर्ष वितिसक्यो । तर उनले सदस्यता पाउने अझै अत्तोपत्तो छैन । श्रेष्ठले डेढ वर्षअघि संघको अधिवेशनसँगै सदस्यताका लागि आवेदन दिएका थिए । “उद्योग वाणिज्य संघ व्यवसायीको हकहित र अधिकारका लागि लड्ने साझा संस्था हो भनिन्छ, तर सदस्यतासम्म दिन सक्दैन भने कसरी व्यवसायीको साझा संस्था भयो ? प्रश्न गर्दै उनले भने ।”

महामारीको बेला व्यवसायीको हकहितका लागि केही काम नभएको भन्दै उनले दोलखामा उद्योग वाणिज्य संघ नै छ की छैन भन्ने प्रश्न गर्ने बेला आएको समेत टिप्पणी गरे ।

कालिञ्चोक गाउँपालिकाका गणेश बुढाथोकीले दोउवासंघको सदस्यता नपाएकोमा आक्रोस व्यक्त गरे । उनले २०६९ सालमै आवेदन दिएपनि हालसम्म सदस्यता कार्ड पाएका छैनन् । “आफ्नै छाता संस्थाबाट सदस्यता कार्ड नपाउनु धेरै दुखको कुरा हो, उनले भने, राजनीतिक कारणले हो या के कारणले हो ? यो स्थिति तत्काल अन्त्य हुनुपर्छ ।”

उद्योग वाणिज्य संघको चरिकोट, सिंगटी, मैनापोखरी, मागादेउराली स्थित कार्यालयमा नयाँ सदस्यताका लागि आवेदन दिन जाने धेरै नयाँ व्यवसायीहरु छन् । तर उनीहरु रित्तो हात फर्किन बाध्य छन् ।

झण्डै पाँच सय व्यवसायीहरुको सदस्यता आवेदन अलपत्र अवस्थामा छ । दोउवासंघका अनुसार सिंगटी शाखाबाट करिब २ सय, चरिकोट क्षेत्रबाट १ सय, मागादेउराली क्षेत्रबाट १ सय, मैनापोखरी क्षेत्रबाट ५० भन्दा बढीको आवेदन परेको छ ।

सबै मापदण्ड पुरा गरेर दस्तुरसहित निवेदन दिएको लामो समयसम्म नयाँ व्यवसायीहरुले सदस्यता नपाएका हुन् । ३ वर्षअघिदेखिका सदस्यता आवेदनहरु थन्किएर बसेका छन् । जिल्ला संघबाट सदस्यता स्वीकृत नभएपछि कतिपय शाखा कार्यालयहरुले सदस्यता आवेदन नै बुझ्न छाडेका छन् । राजनीतिक आग्रह/पुर्वाग्रहका आधारमा आफुहरुलाई सदस्यताबाट बञ्चित गरिएको व्यवसायीहरुको आरोप छ ।

संघका कार्यसमिति सदस्य दिनेश बस्नेतले नयाँ सदस्यता बितरणका लागि आफुहरुले पटक पटक माग गरेपनि सुनुवाई नभएको बताए । “व्यवसायीहरुलाई सदस्यता दिन रोक्नुहुन्न भन्ने विषय हामीले पटक पटक गम्भिरतापुर्वक उठाएका छौं, तर सुनुवाई भएन, बस्नेतले भने कुनैपनि बहानामा नयाँ व्यवसायीहरुलाई सदस्य हुनबाट बञ्चित गर्नु दुर्भाग्यपुर्ण छ ।”

विवादका कारण अघिल्लो कार्यकालदेखिनै नयाँ सदस्यता वितरण प्रक्रिया रोकिएको हो । संघका पुर्व अध्यक्ष लगायतका पदाधिकारीले आफ्नो कार्यकालमा सदस्यता वितरणका लागि धेरै प्रयास गरेपनि अर्को पक्षको असहयोगका कारण सम्भव नभएको बताउँदै आएका छन् ।

उद्योग वाणिज्य संघले भने विद्यान संशोधनपछि मात्रै नयाँ सदस्यता स्वीकृत गर्ने योजना बनाएको छ । महासचिव हेमराज रिमालले पुराना सदस्यहरुको शुद्धिकरण र नयां आवेदनहरुको छानविन भैरहेकाले केही समय लागेको बताए ।

“सदस्यता प्राप्त गरेको १ वर्ष पुरा गरेकाले भोट हाल्न पाउने अधिकार भएपनि आफै कार्यसमितिको उम्मेदवार बन्ने अधिकार हुँदैन, रिमालले भने, आगामी फागुन÷चैत्रमा साधारणसभाबाट म्यान्डेड लिएर विद्यान संशोधन सहित नयाँ सदस्यता टुंग्याउने तयारीमा छौं ।” उनका अनुसार सहकारी र अन्य संघ संस्थाहरुलाई सदस्यता दिईने छैन । दोलखा उद्योग वाणिज्य संघमा हाल ८ सय ४७ जना सदस्य आबद्ध छन् ।

प्रकाशित मिति: आइतबार, असोज १८, २०७७  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update