Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखामा गैर सरकारी संस्थाहरुको आन्तरिक सुशासन र भूमिका सदृढ बनाउने अभ्यास

चरिकोट - जिल्ला समन्वय समिति दोलखाले जिल्लामा क्रियाशिल नागरिक समाज एवं गैर सरकारी संघ सस्थाहरुको भुमिका थप सुदृढ र प्रभावकारी बनाउने अभ्यास सुरु गरेको छ । त्यसका लागि जिससले चौमासिक रुपमा गैससकर्मीबीच असल अभ्यास तथा सिकाई आदानप्रदान सुरु गरेको हो ।

जिल्ला समन्वय समिति दोलखाले सदरमुकाम चरिकोटमा मंगलवार आयोजना गरेको गैरसरकारी संस्थाहरुको असल अभ्यास तथा सिकाई आदान प्रदान गोष्ठीमा सहभागिहरुले हालसम्मको गतिविधिहरुको समिक्षा गर्दै आगामी दिनमा अझ प्रभावकारी भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्ला जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले गैससको भुमिका बलियो, पारदर्शी र सुशासनयुक्त बनाउन चौमासिक रुपमा गैससबीच असल अभ्यास तथा सिकाई आदान प्रदान कार्यक्रम आयोजना गर्ने अभ्यास सुरु गरिएको जानकारी दिए ।

जिससको चौथो जिल्ला सभाबाट व्यवस्थित सूचना केन्द्र स्थापना गर्ने निर्णय भएको स्मरण गराउँदै प्रमुख पाण्डेले त्यसका लागि पूर्ण विवरण उपलब्ध गराउन पनि संघ संस्थाका अधिकारीहरुलाई आग्रह गरेका छन् । जिल्लामा कार्यरत संघसंस्थाहरुले कार्यक्रम संचालन गर्दा स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा जिल्लाका १५ वटा संघ संस्थाका प्रतिनिधिहरुले संस्थाबाट सञ्चालन भएका गतिविधिहरु, असल अभ्यास र सिकाईबारे प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा ग्रामीण पुर्ननिर्माण संस्था, हुराडेक नेपाल दोलखा ग्रामीण विकास टुकी संघ दोलखा, तयार नेपाल, सुआहारा परियोजना, सिविन नेपाल, तयार नेपाल, सेवक नेपाल, ग्रामीण उद्यम विकास केन्द्र, आवाज नेपाल, वान हार्ट नेपाल, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल, नेपाल रेडक्रस सोसाईटी दोलखा शाखा, अपाङ्ग तथा दृष्टिविहिन समुदाय सेवा संघ, मेरी स्टोप्स लेडिज, नाम्सालिङ सामुदायिक विकास केन्द्र लगायत ३३ वटा संस्थाका प्रतिनिधिहरुले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति: मंगलबार, असोज १३, २०७७  २०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update