Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
वालिका बलात्कारीलाई मृत्युदण्डको कानुनी प्रावधान ल्याउने तयारी

काठमाडौँ — बालिका तथा महिलामाथि हुने बलात्कार र हत्याका घटनाविरुद्ध मृत्युदण्डसहितको कानुनी प्रावधान ल्याउने तयारी गरिएको छ । सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बसेको संघीय संसदमा प्रतिनिधित्व गर्ने दलका महिला सांसदहरूको छलफलले कानुनी प्रावधानमा कडाइ पार्नका लागि अध्ययन तथा सुझाव दिनका लागि कार्यदल गठन गरेको छ ।

उक्त समितिले नेपालमा बालिका बलात्कार गर्नेलाई मृत्युदण्ड दिनका लागि कानुनी व्यवस्था गर्न तथा संविधान संशोधनको पहल गर्ने जनाईएको छ । महिला सांसदहरुका अनुसार त्यसका लागि अन्तर्राष्ट्रिय सन्धि अध्ययन गरिनेछ ।

नेकपा सांसद बिन्दा पण्डेको संयोजकत्वमा गठित कार्यदलमा सांसदहरू शान्ता चौधरी, पुष्पा भुसाल, निरुदेवी पाल, अमृता थापा, पार्वती थापा रावल, प्रमिलाकुमारी यादव,अनिता देवकोटा र लक्ष्मी परियार रहेका छन् ।

कानुनी प्रावधान फितलो भएकै कारण पछिल्लो समय किशोरी, दलित, गरिब र दूरदराजमा रहेका बालिकाहरूमाथि बलात्कार घटनामा तीव्रता आएको महिला सांसदहरुको बुझाई छ । गठित समितिले बलात्कारका मुद्दालाई फास्ट ट्र्याकमा सुनुवाइ गर्न सकिने सम्भावना बारे समेत अध्ययन गर्ने बताईएको छ ।

 

प्रकाशित मिति: सोमबार, असोज १२, २०७७  १९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update