Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
काभ्रेका विद्यालयहरुमा पठनपाठन सुचारु

बनेपा - कोरोना कहरकाबीच काठमाण्डौंसँग जोडिएको काभ्रेपलाञ्चोक जिल्लामा विद्यालय सञ्चालन गरी पठनपाठन शुरु गरिएको छ । कोरोना भाइरस महामारीको संक्रमण जोखिमको सम्भावनालाई मध्यनजर गर्दै लामो समयदेखि विद्यालयहरु बन्द थिए ।

स्वास्थ्य सुरक्षा मापदण्ड लागु गर्दै जिल्लाको पाँचखाल नगरपालिका, तेमाल र रोशी गाउँपालिकालगायतले कक्षा सञ्चालन गरी पठनपाठन शुरु गरेका हुन् । विद्यालय सञ्चालन गर्न यसअघि नगर शिक्षा समितिले शैक्षिक कार्यविधि तयार गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो ।

लगत्तै विद्यालय व्यवस्थापन समिति, अभिभावक लगायत सरोकारवालासँग छलफल गरी आवश्यक स्वास्थ्य सुरक्षा विधि अपनाएर विद्यालय सञ्चालन गरिएको विद्यालयहरुले जनाएका छन् ।

असार १४ गतेबाट ‘टोल शिक्षा’को रूपमा टोलटोलमा नै गएर पढाउने र साउन १६ गतेबाट ‘हेलो लर्निङ’ भनेर शिक्षकलाई अनलाइनबाट हप्तामा दुई दिन भए पनि पढाउने व्यवस्था गरेकामा अहिले प्रत्यक्षरूपमा कक्षा संचालन गरिएको हो ।

प्रकाशित मिति: आइतबार, असोज ११, २०७७  ०८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update