चरिकोट— दोलखाको प्रसिद्ध कालिञ्चोक भगवती मन्दिरबाट बगेर आएको भद्रावती खोलालाई पवित्र तिर्थस्थलको रुपमा विकास गरिने भएको छ । धार्मिक एवं सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले गाउँपालिकाले भद्रावती खोलामा कुण्ड लगायतका संरचना निर्माण गरी तिर्थस्थलको रुपमा विकास गर्ने योजना अघि सारेको हो ।
कालिञ्चोक भगवती मन्दिरदेखि बगेर आएको वडा नम्बर ६, गोदुङ स्थित भद्रावती खोलामा कुण्ड, श्राद्ध स्थल, दाहसंस्कार स्थल निर्माणको योजना बनाईएको छ । जसका लागि गाउँपालिकाले (बिस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को काम सम्पन्न गरिसकेको छ ।
गाउँपालिका अध्यक्ष विन कुमार थामीले भद्रावती कुण्डको डिपिआरको काम सम्पन्न भैसकेको र चालु आर्थिक वर्षबाट निर्माण कार्य थालनी गर्ने योजना रहेको जानकारी दिए । उनका अनुसार पहिलो चरणमा दाहसंस्कार स्थल र त्यसपछि श्राद्ध स्थल र भद्रावती कुण्ड निर्माण गरिने छ । यसैगरी भद्रावती कुण्डमा सोह्रश्राद्धदेखी श्राद्ध गर्न सबैमा अपिल गरिने छ ।
मंसिर १ गतेबाट ३ महिने मेला सुरु गरेर स्वस्थानी ब्रतको अन्त्यसँगै मेला पनि समापन गर्ने योजना छ । मेला भर्न आउने भक्तजनहरुका लागि भद्रावती मन्दिरको स्थापना गर्ने जनाईएको छ ।
थप पर्यटकहरुलाई आकर्षित गर्न कुण्ड आसपासको क्षेत्रमा पिक्निक स्पोट, जल ध्यानकेन्द्र, मृगस्थली जस्ता संरचनाहरु निर्माण गर्ने र नजिकैको बस्तिमा होम स्टे संचालन गर्ने परिकल्पना गरिएको छ । “भद्रावती क्षेत्रलाई महत्वपुर्ण पर्यापर्यटनको गन्तव्यको रुपमा विकास गर्न एकिकृत योजना अघि सारिएको छ, अध्यक्ष थामीले भने यसैवर्षबाट यो कामको थालनी हुँदैछ, यसबाट स्थानीय स्तरमा ठुलो रोजगारीको सिर्जना पनि हुनेछ ।”
कुण्ड असार महिनामा खुल्ला गरिने छ भने मंसिर १ गते ड्याम बन्द गरिने छ । मंसिर महिनामा ड्याम बन्द गरेर १० हजार माछाको भुरा हाल्ने र जेष्ठ महिनामा बिक्रिवितरण गर्ने योजना पनि छ । भद्रावती खोला कालिञ्चोक मन्दिरको फेदबाट बगेर भद्रावती खोला हुँदै तामाकोशी नदीमा मिसिन्छ ।