Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
“बाढीपहिरोले सुकुम्बासी बनायो, छिट्टै पुर्नस्थापना गरिदिए हुन्थ्यो”

चरिकोट — कालिञ्चोक गाउँपालिका—५, का बीर बहादुर थामीले भुकम्पले भत्काएको घर ठड्याएको १ वर्षमात्रै भएको थियो । जसोतसो घर बनाएपछि उनले बालवच्चा राम्रोसंग पढाउने, केही व्यवसाय गर्ने जिन्दगीको नयाँ सपनाहरु देख्न थालेका थिए । तर त्यही सपनाको झुपडीपनि भदौं १९ गतेको बाढीपहिरोले बगाएपछि उनको परिवार अहिले आफन्तको शरणमा छन् ।

बाढीपहिरोले उनको घरमात्रै वगाएन, गरिखाने सबै बारी समेत बाँकी राखेन । भुकम्पले तहसनहस बनाएको उनको सपना अर्को प्रकोप बाढीपहिरोले ध्वस्त बनायो । “बाढीले एउटा घडेरी समेत बाँकी राखेको छैन, सुरक्षित ठाउँमा जग्गा किन्नुपर्ने बाध्यता छ, अब कसरी घर बनाउने ? पीडा पोख्दै उनले भने ।”

बाढीपहिरोले दुईवटा घरसँगै सबै बारी बगरमा परिणत गरेपछि पीडित पविमाया थामीको आँखाबाट दिनहुँ आँसु रोकिँदैनन् । श्रीमान र आफ्नो जिन्दगीभरको कमाईबाट उनले दुईवटा घर बनाईन् । गरीखान केही बारी जोडिन् । “अबको कमाईबाट केही गरौंला भन्ने थियो, तर बाढीपहिरोले सुकुम्वासि बनायो, भक्कानिदै उनले भनिन्, बाढीलले बगरमा बदलिएको घर र बारी देखेर खाली रुन मन लाग्छ, अब कसरी कहाँ बनाउने भन्ने पीरले सताउँछ ।”

अर्का पीडित खेल बहादुर थामीको पिडा त्यस्तै छ । विहान झिसमिसेमै उठ्छन् अनी रगत पसिना वगाएर कठोर मिहिनेतले बनाएको आफ्नो घर र बारी हेर्न पुग्छन् । तर घरको भग्नावशेष र बस्ती नै उजाड बनेको दृष्य देखेर उनी मुर्छा पर्छन् । “बस्ने, गरिखाने ठाउँ केही बाँकी छैन, अब फेरी यहाँ बनाउनसक्ने अवस्था छैन, कता गएर बस्ने, के सम्पतिले बनाउने ? उनले भने, सरकारले केही गर्छ की भन्ने आश छ, ।”

मन्त्री, सांसदहरुको टोलीले स्थलगत निरीक्षण गरेर आसवासन दिएपछि केही आषा पलाएको उनले सुनाए । उनीहरु जस्तै २३ घरपरिवारको पिडा उस्तै छ । भुकम्पको पिडाबाट तंग्रिएर बुन्न थालिएका केही सपनाहरु बाढीपहिरोमा विलिन भयो ।

छिट्टै सरकारले एकिकृत बस्तीको रुपमा आफुहरुको पुर्नस्थापना गरिदेओस् भन्ने आषमा छन् उनीहरु । पुर्नस्थापना लगायत पीडितहरुको समस्याबारे छलफल गर्न पुगेको गाउँपालिका अध्यक्ष विन कुमार थामी सहितको टोलीसंग उनीहरुले आईतवार यही धारणा राखे ।

पीडित ईश्वर विकले उपयुक्त जग्गा पहिचान गरी सरकारले एकिकृत बस्तीको रुपमा पुर्नस्थापना गर्दा राम्रो हुने सुझाए । पीडित खेल बहादुर भन्छन्, सम्पतिको नाममा केही बाँकी नरहेपछि अब सरकारकै भर पर्नुपर्ने भयो, सबैलाई एकै ठाउँमा राखिदिए हुन्थ्यो ।”

भदौ १९ गते रानीवन क्षेत्रबाट गएको पहिरोले ठुलो रुप लिएपछि काँडावारी, मैदान, भैसे, शिलाफारे, देउपुरथली बस्तीका २६ घरपरिवार विस्थापित छन् । अन्य थुप्रै घरपरिवार जोखिममा छन् भने ५ रोपनी भन्दा बढि खेतियोग्य जमिन वगर बनेको छ । जोखिम बढेपछि पहिलेनै घर छाडेकाले मानविय क्षति हुन पाएन ।

गाउँपालिका अध्यक्ष विन कुमार थामीले बिस्थापितहरुको उचित पुर्नस्थापनाका लागि उपयुक्त जग्गाको पहिचान र प्रदेश तथा केन्द्र सरकारसँग समन्वय भैरहेको जानकारी दिए । “पीडितहरु एकिकृत बस्ती बसाल्न तयार देखिनुभएको छ, त्यसका लागि हरेक हिसावले उपयुक्त जग्गा पहिचान गर्ने काम भैरहेको छ, उनले भने, पुर्नस्थापनाका लागि प्रदेश र केन्द्र सरकारसँगपनि समन्वय भैरहेको छ ।”

गाउँपालिकाले घर पुर्ण रुपमा क्षतिग्रस्त परिवारलाई जनही ५० हजार क्षतिपुर्ति दिने निर्णय गरेको छ । यस्तै क्षतिको विवरण एकिन गरी जग्गाधनीहरुलाई पनि क्षतिपुर्ति दिने निर्णय पनि भएको छ ।

वडाअध्यक्ष सुवास थामीले पीडितहरुको अस्थायी व्यवस्थापन गरिएको र अब स्थायी व्यवस्थापनतर्फ केन्द्रित भएर लागेको बताए । उनका अनुसार बाढीपहिरोले घर, बारी, अन्नपात सहित धनमालमा पुर्याएको भौतिक क्षतिको एकिन विवरण तयार हुँदैछ ।

प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update