चरिकोट — दोलखामा किवी खेती प्रवद्र्धनका लागि चालु आर्थिक वर्ष साँढे ६ करोड भन्दा बढि अनुदान कृषकहरुसम्म पुग्ने भएको छ । प्रधामन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई (किवी जोन) दोलखाले किवीको व्यवसायिक खेती प्रवद्र्धनका लागि ३ करोड रुपैयाँ बरावरको कार्यक्रम कार्यान्वयन गर्दैछ । जिल्लाका ९ वटा स्थानीय तहले पनि ३ करोड ५५ लाख बरावरको अनुदान कार्यक्रम कार्यान्वयन गर्ने तयारी गरेका छन् ।
किवी जोन दोलखाका प्रमुख, बरिष्ठ कृषि विकास अधिकृत मोहन खतिवडाका अनुसार किवी जोन, व्लक र पकेट क्षेत्रका कृषकहरुलाई उक्त कार्यक्रममा सहभागि हुन यही असोज २ गतेबाट एक महिने सूचना प्रकाशन गरिएको छ ।
उनका अनुसार चक्लाबन्दीमा किवी पकेट संचालन कार्यक्रमका लागि ४० लाख, किवी वालीको नयाँ बगैचा स्थापना कार्यक्रममा ५६ लाख, कृषि यन्त्रिकरण सहयोग कार्यक्रममा १० लाख, सिंचाई पुर्वाधार निर्माण कार्यक्रममा ४५ लाख अनुदान छुट्याईएको छ । यसैगरी किवी बगैचामा थाँक्रा कार्यक्रम तर्फ ९७ लाख खर्च हुँदैछ ।
स्थानीय तहको लागत सहभागितामा विउ श्रोत केन्द्र स्थापनाका लागि ३० लाख र स्थानीय तहसँगको समन्वयमा नर्सरी श्रोत केन्द्र स्थापना गर्न ६ लाख अनुदान दिईदैछ ।
किवी फलको प्याकेजिंगको लागि कार्टुन वितरण र किवी फल भण्डारणका लागि कुलबुट स्थापना कार्यक्रममा १० लाख बजेट विनियोजन गरिएको छ । कुलबुट प्रविधि प्रयोग गर्दा किवीफल पाकिसकेपछि ९ महिनासम्म सुरक्षित भण्डारण गरेर पर्यटकहरुलाई चखाउन र बजारीकरण गर्न सकिन्छ । यो प्रविधि दोलखामा पहिलो पटक कार्यान्वयन गर्न लागिएको हो ।
यस प्राविधिको प्रयोगबाट जिल्लामा घुम्न आउने पर्यटकले भदौ महिनासम्म किवीफल चाख्न पाउने प्रमुख खतिवडाले बताए । “किवीफल पाकिसकेपछि खेर जान नदिन, जिल्ला भित्रिने पर्यटकहरुलाई लामो समयसम्म चाख्न पाउने वातावरण बनाउन यो प्रविधि ल्याउन लागिएको हो, प्रमुख खतिवडाले भने यसले किवीको बजारीकरणमा ठुलो मद्धत पुर्याउँछ ।”
गत वर्ष दोलखामा साँढे ४ हजार मेट्रिकटन किवी उत्पादन भएकोमा यो वर्ष १५ प्रतिशतले बढ्ने किवी जोन कार्यालय दोलखाको प्रक्षेपण छ ।
उक्त कार्यक्रम किवी जोन कार्यालयले किवी पकेट क्षेत्रमा सुचीकृत भएका कृषिसँग सम्बन्धित संघसंस्थाहरु मार्फत कार्यान्वयन गर्दै आएको छ ।