Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
बिचल्लीमा परेका ४ वालवालिकाका लागि जुट्यो ६२ हजार आर्थिक सहयोग

चरिकोट — दुबैजना अविभावक गुमाएपछि विचल्लीमा परेका दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर १ का ४ वालवालिकाका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।

नेपाल थामी समाज जिल्ला कार्यसमिति दोलखाको पहलमा विभिन्न व्यक्तित्वहरुबाट जुटेको ६२ हजार ७ सय ६५ रुपैयाँ सहयोग रकम सोमवार एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको छ । थामी समाज जिल्ला कार्यसमितिका सचिव देविका थामी, विकास थामी, राखी थामी, हिरामाया थामी लगायतले उक्त रकम कालिञ्चोक गाउँपालिका वडा नम्बर १ का अध्यक्ष बावुलाल थामीलाई सामुहिक रुपमा हस्तान्तरण गरे ।

सहयोग रकम दोलखाली चेली सन्तोषी मानन्धरबाट १५ हजार १ सय, कालिञ्चोक गाउँपालिका ८, चौघरा निवासी (हाल अमेरिका) गणेश शिवाकोटीबाट ११ हजार २ रुपैयाँ, देविका थामी ५ हजार ५ सय, विकास थामीबाट ५ हजार रुपैयाँ सहयोग जुटेको छ । यस्तै भव थामी, होम थामी, मञ्जु थामी, सुरेश थामी, खड्ग थामी, जगत बहादुर थामी, राजकुमार ढुंगेल, राखी थामी, सोम बहादुर थामी, शक्ति थामी, हिरामाया थामी, कृष्ण कुमारी थामी, भानुदास थामी, लगायतले पनि सहयोग गरेका छन् ।

कार्यक्रममा कालिञ्चोक गाउँपालिका अध्यक्ष विन कुमार थामी, थामी समाजका केन्द्रिय महासचिव लक्ष्मण थामी लगायतको उपस्थिति थियो । वुवाको मृत्यु भएको एक वर्षपछि आमाको सदरमुकाम चरिकोट स्थित सामुदायिक अस्पतालमा गत भदौ १८ गते मृत्यु भएपछि ती ४ वालवालिका अविभावकविहिन बनेका छन् ।

एसओएस वालग्राम नामक संस्थाले उनीहरुको जिम्मा लिने प्रतिवद्धता जनाएपनि चारै जनालाई कोरोना संक्रमण पुष्टि भएपछि हाल आईसोलेसनमा छन् ।

 

प्रकाशित मिति: सोमबार, असोज ५, २०७७  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update