काठमाडौँ — लामो दूरीको सार्वजनिक यातायात सेवा ६ महिनापछि (बिहिवार) देखि संचालनमा आएको छ । कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले चैत ११ मा लकडाउन लागू गरेर लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाएको थियो । बीचमा लकडाउन हटाइए पनि सार्वजनिक यातायात खुलाइएको थिएन ।
सरकारले मंगलबार गरेको निर्णय अनुसार असोज १ देखि सार्वजनिक यातायात र आन्तरिक हवाई उडान खुला भएको हो । सवारी साधनहरू स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर चलाउनुपर्नेछ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईले विश्वकर्मा पूजा गरेर बस संचालनमा ल्याईने बताए । ‘लामो समयदेखि थन्किएर बसेका गाडीका पार्टपुर्जा जाम भएर दुर्घटनामा पर्ने जोखिम हुन्छ,’ उनले भने, ‘त्यसैले क्रमशः मर्मत गर्दै सञ्चालनमा ल्याईनेछ ।’
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र तीनवटा मजदुर ट्रेड युनियन नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त रूपमा बुधबार प्रेस विज्ञप्ति जारी गर्दै लामा, मध्यम, छोटो र स्थानीय रुटमा सबै गाडी सञ्चालनमा आउने जानकारी दिईसकेका छन् ।
सरकारले लामो दूरीका सवारीमा तोकेको मापदण्डअनुसार कुल सिट क्षमताको आधा मात्र यात्रु बोक्नुपर्ने छ । यसरी यात्रु बोक्दा ५० प्रतिशत बढी लिन पाइने गरी निर्णय भएको छ । यात्रुलाई गाडीमा उभ्याउन पाइने छैन । यात्रुले सेनिटाइजर र मास्क अनिवार्य प्रयोग गर्नुपर्ने छ ।