चरिकोट — नेपाली कांग्रेसको महाधिवेशन फागुनमा हुने/नहुने अन्यौल नै रहेपनि जिल्ला तहमा भने नेतृत्वको बहस सुरु भएको छ । जिल्ला पार्टी नेतृत्वमा कसलाई स्थापित गर्ने भन्ने विषयमा नेता कार्यकर्ताबीच बहस तीब्र छ । जिल्ला सभापति लगायत पदाधिकारीमा आफुलाई बलियो बनाउन आकांक्षी नेताहरु कार्यकर्ताहरुसँग बाक्लो लविङमा छन् ।
कार्यकर्ताहरुलाई आफ्नो पक्षमा पार्न नेताहरु सबै उपाय प्रयोग गरेर दौडधुपमा लागेका छन् । बर्तमान कार्यसमितिको कार्यकाल सकिएपनि कोरोना भाईरस (कोभिड १९) को महामारीका कारण आगामी फागुन महिनामा तोकिएको महाधिवेशन केही महिनापछि धेकेलिने सम्भावना छ । कांग्रेसको विधान अनुसार केन्द्रिय महाधिवेशन अघि जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्ने हुन्छ । कांग्रेस नेताहरुका अनुसार दोलखामा क्रियाशिल सदस्यता बितरण र नविकरणको काम अन्तिम चरणमा पुगेको छ ।
सचिव सन्तोष रिमालले क्रियाशिल सदस्य संख्या १० हजार नाघ्ने बताए । वडा र क्षेत्रिय अधिवेशन सम्पन्न गरेपछि जिल्ला अधिवेशन गर्ने तयारी छ ।
जिल्ला नेतृत्वका लागि लविङ थालेका समूहहरु आ–आफ्नै गुटका नेतालाई नेतृत्वमा स्थापित गर्न कस्सिएका छन् । यो पटक जिल्लामा तीन वटा प्यानल बन्नसक्ने चर्चा छ ।
केन्द्रमा यो पटक संस्थापन प्यानलको नेतृत्व देउवाले गर्ने भएपनि सभापतिको आकांक्षी धेरै भएपछि अर्को प्यानल टुंगो लागिसकेको छैन । यद्यपी जिल्लामा यो पटक पनि सभापति शेर बहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोईराला प्यानलबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ । त्यस्तो अवस्थामा युवा नेताहरुको समुहले छुट्टै स्वतन्त्र प्यानल खडा गर्ने तयारी गरेका छन् । संस्थापन पक्षका नेताहरु एकजुट हुँदा त्यत्तै पल्लाभारी हुने विश्लेषण गरिएको छ ।
यी हुन् सभापतिका आकांक्षी नेता :
दोलखा कांग्रेसको अबको नेतृत्व सभापतिका लागि मात्र नभई आउदो तिनै तहको निर्वाचनका गुमेको साख व्यूँउताउने नेतृत्व कार्यकर्ताले खोजी गरेका छन् । जिल्ला सभापतिका लागि वर्तमान सभापति रुद्र खड्का, युवा नेता कुन्दनराज काफ्ले, केशवराज चौलागाई, वर्मा लामा, ईश्वर नारायण मानन्धर, सन्तोष रिमाल लगायतका नेताहरु प्रबल दाबेदार हुन् ।
देउवा निकट मानिने वर्तमान सभापति खड्का राम्रो मतका साथ निर्वाचित भएका थिए । उनका कार्यकालमा जिल्लाको ९ वटा स्थानीय तहमध्ये २ वटामा कांग्रेसले विजय प्राप्त गर्यो । खड्काकै पालामा जिल्लामा बिग्रिएको कांग्रेसको संगठन धेरै सुदृढ भएको निकटस्थहरुको दावी छ ।
उनी पार्टीको केन्द्रिय सदस्य बन्ने दौडमा छन् । त्यसका लागि खड्का केन्द्रीय नेताहरुसँग निरन्तर लविङमा छन् । केन्द्रीय सदस्य बन्ने स्थिति नभए जिल्ला सभापति दोहोर्याउने उनको मनस्थिति छ ।
सभापतिको अर्का आकांक्षी काफ्ले विद्यार्थी राजनीतिबाट उदायका युवा नेता हुन् । उनको कृष्ण प्रसाद सिटौला, गगन थापा लगायतका केन्द्रीय नेताहरुसँग राम्रो सम्बन्ध छ । सकभर केन्द्रीय सदस्य बन्ने नभए जिल्ला सभापति लड्ने उनको तयारी छ । जिल्लामा युवा नेतृत्वको माग बढ्दै गएकाले सभापतिमा विजयी हुने उनको आँकलन छ । यसअघि पनि सभापतिमा लडेका उनले तेस्रो मत पाएका थिए ।
यसैगरी केन्द्रमा पौडेल निकट अर्का आकांक्षी मानन्धर यसअघि पनि कार्यकर्ताबाट राम्रो मत र माया पाएका नेता हुन् । भिमेश्वर नगरपालिकाको मेयरमा विजय नभएपनि लोकप्रिय मत प्राप्त गरेका थिए ।
सभापतिका अर्का आकांक्षी चौलागाई कांग्रेसका बैचारिक नेता र प्रखर बक्ताका रुपमा परिचित छन् । संस्थापन निटक उनीपनि यो पटक जिल्ला सभापतिका लागि नेता कार्यकर्ताहरुसँग छलफलमा छन् । साझावोलीसँगको कुराकानीमा उनले कांग्रेसमा विचार र नीति अनुसारको नेतृत्व नहुँदा समस्या भएको भन्दै कार्यकर्ताले अब त्यसको खोजी गर्नुपर्ने दिन आएको बताए ।
अर्का आकांक्षी लामा कागेंस निकट जनजाति संघको केन्द्रिय महासचिव हुन् । सभापतिमा उम्मेदवारी दिँदा खासगरी युवा पुस्ताबाट मत पाउने उनको विस्वास छ । वर्तमान सचिव सन्तोष रिमाल, काफ्ले उम्मेदवार नहुने अवस्थामा सभापतिमा उम्मेदवारी दिने तयारीमा छन् । पार्टीको आसन्न अधिवेशन र नजिकिँदै गरेको स्थानीय चुनावलाई लक्षित गरी जिल्लामा कांग्रेसले आफ्नो गतिविधि बढाएको छ ।