सिंगटी — दोलखाको उत्तरी क्षेत्रका एक सय भन्दा बढी व्यवसायीहरु आफ्नै छाता संस्थामा संगठित हुने अबसरबाट बञ्चित भएका छन् । सिंगटी शाखामार्फत विगु, गौरीशंकर र कालिञ्चोक गाउँपालिकाबाट सदस्यताका लागि आवेदन दिएका १ सय १७ नयाँ व्यवसायीले सदस्यता पाएका छैनन् ।
सबै मापदण्ड/प्रक्रिया पुरा गरेर आवेदन दिएको लामो समय वितिसक्दा समेत सदस्यता नपाएपछि व्यबसायीहरु आक्रोसित छन् । उनीहरुको आवेदन स्वीकृतिका लागि जिल्ला संघमा पठाईएको मात्रै १ वर्ष वित्न लागेको छ । नयाँ व्यवसायीहरुको आवेदन २०७६ साल माघ महिनामा स्वीकृतिका लागि जिल्ला संघमा पठाईएपनि हालसम्म अनुमोदन नभएको उद्योग वाणिज्य संघ सिंगटी शाखाका अध्यक्ष महेश श्रेष्ठले बताए ।
“नयाँ व्यवसायीहरुको सदस्यता आवेदन जिल्ला संघमा पठाएको धेरै भैसक्यो, के कारणले हो ? हालसम्म स्वीकृतिका लागि प्रक्रिया अघि बढाईएको छैन, यो आश्चर्यको विषय बनेको छ, अध्यक्ष श्रेष्ठले भने ।”
श्रेष्ठका अनुसार जिल्ला संघबाट नयाँ सदस्यता स्वीकृत नभएपछि अन्य आवेदन पनि रोकिएको छ । नयाँ व्यवसायीहरुको सदस्यता जिल्ला संघको बैठकबाट स्वीकृत गर्नुपर्ने विधानमा व्यवस्था छ । यद्यपी नयाँ सदस्यता स्वीकृतिका लागि दोउवासंघले प्रक्रिया अघि नबढाउँदा आफ्नो छाता संस्थामा संगठित हुने अधिकारबाट व्यवसायीहरु बञ्चित भएका छन् ।
आफुहरुको अधिकारका लागि लड्ने संस्थाले नै आफुहरुको संगठित हुने अधिकार कुण्ठित गरेको नयाँ व्यवसायीहरुको गुनासो छ । व्यवसायीहरुले प्राप्त गर्ने कतिपय सेवा सुविधाका लागि संघको सदस्यता लिएको हुनुपर्छ । सदस्यता नपाउँदा व्यवसायीहरुले उक्त सुविधा पनि उपभोग गर्न पाएका छैनन् ।